टोकियो, २९ कात्तिक । जापानी प्रधानमन्त्री सिन्जो आबेले कर वृद्धि गर्ने उहाँको योजनालाई थप पछाडि सार्दै आफूमाथिको सार्वजनिक समर्थन बलियो बनाउँन डिसेम्बर १४ मा मध्यावधि निर्वाचन गर्ने योजना बनाउनुभएको समाचार शनिबार प्राप्त भएका छन् ।
प्रधानमन्त्री आवेले मङ्गलबार आफ्नो निर्णयका विषयमा एक पत्रकार सम्मेलन योजना गर्ने अपेक्षा गरिएको योमियुरी सिम्बुनले जनाएको छ ।
प्रधानमन्त्री आबेको सरकारले हाल कमजोर आर्थिक सूचकको अवस्था र मन्दी हुनसक्ने आशङ्कमा आठ प्रतिशतको उपभोक्ता करलाई दश प्रतिशतमा बढाउने प्रस्तावलाई स्थगन गरेको छ । यसैले पनि उहाँले यस प्रकारको योजना बनाउनु भएको अनुमान गरिएको छ ।
कर वृद्धि गर्ने प्रस्ताव अक्टोबर १५ देखि लागु गर्ने योजना बनेको थियो । यसलाई सरकाले सन् २०१७ को अप्रिलसम्म सार्न चाहेको स्थानीय आमसञ्चारले जानकारी दिएका छन् ।
आबेको निर्णयले जापानको शक्तिशाली तल्लो सभाको अवधिलाई चारवर्षे अवधिबाट कटौती गर्नेछ । उक्त अवधि सन् २०१६ को डिसेम्बरसम्म रहने व्यवस्था रहेको छ ।
दुई वर्ष अगाडि सत्ताधारी दलले निर्वाचनमा राम्रो विजयी हासिल गरेकाले हाल प्रतिपक्षी दलहरू कमजोर देखिएका छन् । यसै अवस्थामा प्रधानमन्त्रीले निर्वाचन गराउन चाहनुभएको बताइएको छ ।
जापानी सैनिकको भूमिका विस्तार गर्ने जस्ता विषयमा अलोकप्रिय कानुन अगाडि बढाउन पनि प्रधानमन्त्री आबेले राष्ट्रिय निर्वाचन अगाडि बढाउन चाहनुभएको क्योडो च्युजले उल्लेख गरेको छ ।
जापानले उपभोग कर अप्रिल महिनामा पाँच प्रतिशतबाट आठ प्रतिशतमा बढाएको थियो । जापानको हाल व्यापक भइरहेको अवकाशप्राप्त जनसङ्ख्यालाई निवृत्तिभरण उपलब्ध गराउन पनि उक्त करदरमा वृद्धि गरिएको थियो । अर्कोतिर जापानको सार्वजनिक ऋणको आकार पनि बढिरहेको देखिएको थियो ।
वर्तमान कानुनअनुसार सन् २०१५ देखि कर पुन १० प्रतिशतसम्म बढाउने योजना बनेको छ । अर्कोतिर सरकारले कर वृद्धिका साथै अर्थतन्त्र जोगाउने उपाय गर्नुपर्ने पनि व्यवस्था कानुनले गरेको छ ।
अर्थशास्त्रीहरूले वर्षौँदेखि जापानले आफ्नो उपभोक्ताकर बढाउनुपर्ने तथा व्यापक भएको राष्ट्रिय ऋण घटाउनु पर्ने सल्लाह दिइरहेका छन् ।
यसअघिको करवृद्धिले उपभोक्ताको खर्चलाई निरुत्साहित गरेको थियो । अर्कोतिर दोस्रो पटकपनि कर बढाउँदा सुधारलाई पूर्णतया असफल बनाउनसक्छ । यसले प्रधानमन्त्री आबेलाई राजनीतिक रूपमा निकै प्रभावित बनाउने अनुमान गरिएको छ ।
प्रधानमन्त्री आबेले जुलाइदेखि सेप्टेम्बरको आर्थिक वृद्धिको तथ्याङ्क हेरेर कर वृद्धि गर्ने वा नगर्ने निर्णय गर्ने बताउनुभएको छ । अर्कोतिर कर वृद्धि गर्ने सम्भावना मतदाताबीच बढ्दो रूपमा अलोकप्रिय देखिएको छ ।
यस विषयमा टिप्पणी गर्न सरकारी अधिकारीहरू शनिबार उपलब्ध भएनन् ।
प्रधानमन्त्री आबे हाल २० मुलुकको समूहको अस्ट्रेलियामा आयोजना भइरहेको शिखर बैठकमा हुनुहुन्छ । उहाँ सोमबार स्वदेश फर्कनुहुनेछ र आफ्नो सत्ताधारी गठबन्धनका साझेदारहरूसँग बैठकमा बस्नुहुनेछ । उक्त जानकारी सानकेइ तथा माइनिचीले दिएका हुन् ।
उहाँले मङ्गलबार थप बजेटको मस्यादा बनाउन आदेश दिनुहुने र त्यसपछि संसदको तल्लो सभा विघटन गर्ने निर्णय घोषणा गर्नुहुने माइनिचीले उल्लेख गरेको छ । रासस/एएफपी













प्रतिक्रिया