इस्लामाबाद २८ कात्तिक । अफागानिस्तानका राष्ट्रपति असरफ घानी शुक्रबार पाकिस्तान आइपुग्नु भएको समाचार छ ।
उहाँ दुई दिनको औपचारिक भ्रमणको क्रममा यहाँ आइपुग्नु भएको बताइएको छ । सो भ्रमणको क्रममा उहाँले पाकिस्तानी उच्चस्तरिय नेताहरुसँग प्रमुख सुरक्षा मुद्दालगायत द्वीपक्षीय आर्थिक सहयोगको वृद्धि सम्बन्धी वार्ता गर्नु हुने अनुमान गरिएको छ ।
अफगान राष्ट्रपतिले तालिवानसँगको वार्ताको लागि पाकिस्तानको सहयोग चाहनु भएको समाचारमा उल्लेख छ ।
अफगानिस्ताका तालिवानसँगको शान्तिवार्ताको लागि पाकिस्तानको प्रमुख भूमिका रहेको बताइएको छ ।
अफगान राष्ट्रपति घानीका साथमा वरिष्ठ नेताहरु, मन्त्रिमण्डलका सदस्यहरु र व्यापारीलगायत एकसयभन्दा बढी उच्चस्तरिय प्रतिनिधिमण्डल पाकिस्तान भ्रमणमा रहेका जनाइएको छ ।
अफगान राष्ट्रपति असरफ घानी गत सेप्टेम्बरमा अफगानिस्तानको राष्ट्रपति बन्नु भएयता पाकिस्तानको भ्रमण गर्नु भएको यो पहिलो पटक हो ।
तर उहाँको यो दोस्रो विदेश भ्रमण भएको जनाइएको छ । उहाँले राष्ट्रपति पद सम्हाल्नु भएयता पहिलो विदेश भ्रमण चीनको गर्नु भएको थियो ।
घानीले पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ र राष्ट्रपति मामनोन हुृसेनसँग भेटवार्ता गर्नुहुने बताइएको छ ।
त्यसैगरी अफगान राष्ट्रपति र पाकिस्तानी प्रधानमन्त्रीको संयुक्त प्रेस सम्मेलन हुने समेत पाकिस्तान सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । रासस/सिन्ह्वा













प्रतिक्रिया