काठमाडौँ, १५ कात्तिक । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संवैधानिक राजनीतिक संवाद तथा सहमति सहमतिले बुझाएको प्रतिवेदनका आधारमा संविधानसभा अगाडि बढ्ने बताउनुभएको छ ।
अध्यक्ष नेम्वाङले शनिबार नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा (माओवादी)का शीर्ष नेतासहित संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराइलाई आफ्नै कक्षमा बोलाई संविधानका अन्तर्वस्तुका बारेमा छलफल गर्नुभएको थियो ।
छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले आगामी माघ ८ मा संविधान जारी गरिने मूल कार्यतालिका परिवर्तन हुँदैन भन्नुभयो । उहाँले भन्नुभयो, “भोलि समितिले कस्तो किसिमले प्रतिवेदन मलाई बुझाउँछ, त्यसका आधारमा संविधानसभाको आगामी दिनको कार्यसूची तय हुन्छ ।”
प्रमुख तीन दलबीच सम्पन्न सो छलफलमा संविधानका अन्तर्वस्तुमा सहमति भएका विषयवस्तुलाई सहमतिका रुपमा र असहमति भएका बुँदालाई असहमति रुपमा संविधानसभामा पठाउन सहमति भएको थियो । संविधानसभाले समितिलाई संविधानका अन्तर्वस्तुमा भएका सहमति अथवा असहमतिको प्रतिवेदन अन्तिम पटक कात्तिक १६ गतेसम्म बुझाउन निर्देशन दिएको छ ।
“जनतामा माघ ८ मा संविधान आउँछ आउँदैन भन्ने चिन्ता र आशङ्का बढ्दै गएको छ, यस कुरालाई तपाईंहरुले गम्भीरतापूर्वक लिनुहोस्, अब जनताले त्यो चिन्तालाई धेरै थेग्न र थाम्न सक्दैन भन्ने कुरालाई मैले नेताहरुलाई आफ्नै कार्यकक्षमा बोलाई पुनः एक पटक ध्यानाकर्षण गराएँ” नेम्वाङले भन्नुभयो ।
“संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा सबै दलका शीर्ष नेता हुुुनुहुन्छ, उहाँहरुले सहमति गर्न सक्नुभएन भने कसले गर्न सक्लान् ? अब माघ ८ मा संविधान जारी गर्ने कार्यतालिका परिवर्तन गर्ने विषयमा सोच्नु पनि हुँदैन” उहाँले भन्नुभयो ।
समितिले प्रतिवेदन बुझाएपछि के हुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष नेम्वाङले प्रतिवेदन आएपछि यसका आधार र सहमतिमा संविधानसभा अगाडि बढ्छ भन्नुभयो । “दलबीच संविधानका अन्तर्वस्तुमा सहमतिमा पुग्न अझै पर्याप्त समय छ, यो समयमा दलहरुले आआफ्ना दलीय अडानभन्दा माथि उठी देश र जनताका लागि सोच्न म आग्रह गर्छु” उहाँले बताउनुभयो ।
दलबीच खासगरी संविधानमा रहने शासकीय स्वरुप, राज्यको पुनःसंरचना तथा न्याय र निर्वाचन प्रणालीका केही बुँदामा अझै विवाद छ । दलबीच आजसम्म ती विषयमा सहमति जुटाउन सकेनन् भोलि एक दिनमा जुट्ला त भन्ने जिज्ञासामा अध्यक्ष नेम्वाङले भन्नुभयो, “दलहरुले दुई घन्टामा विवाद अन्त्य हुन्छ भनेका छन् ।” रासस
















प्रतिक्रिया