काठमाडौं, १० कात्तिक । हुदहुद नामको सामुद्रिक आँधीको प्रभाव सकिएको एक हप्ता नबित्दै त्यत्तिकै खतरायुक्त नयाँ आँधी आउन लागेको अनुमान गरिएको छ ।
अरबियन सागरमा हुदहुद जस्तै अबको १२ घण्टामा आउने त्यसले आँधीको रूप लिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नयाँ आँधीको नामाकरण भने यस पटक पाकिस्तानले गर्ने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । अघिल्लो हुदहुदको नाम ओमनले राखेको थियो । समुद्रको पिँधमा भू–कम्पका कारण आँधी उत्पन्न भएपछि जापानले केही वर्ष पहिले ‘सुनामी’ को नाम दिएको थियो ।
सामुद्रिक किनारमा रहेका विभिन्न मुलुकले आँधीको नाम पालैपालो राख्ने प्रचलन रहँदै आएको छ । अरबियन सागरमा हुदहुद जस्तै नयाँ आँधी सिर्जना हुँदैछ । उनले सामुद्रिक आँधीको प्रभावले मौसम बदली भई केही दिन पानी पर्ने र नेपालमा कात्तिक १३ र १४ गते आँधीको बढी प्रभाव पर्ने अनुमान गरिएको उल्लेख गरे ।
उक्त समयमा उच्च हिमाली भेगमा हिमपात हुनुका साथै जाडो पनि बढ्ने बताइएको छ । मौसमविद् अर्यालका अनुसार आँधीले भारतको पश्चिमी क्षेत्रका गुजरात र राजस्थानमा बढि प्रभाव पार्नेछ, भने नेपालका मध्यपूर्वी र पश्चिमी भेगमा निकै प्रभाव पार्ने अनुमान गरिएको छ ।
पश्चिमी वायुको प्रभावका कारण देशभरका पहाडी भेगमा मौसम बदली भई हल्का वर्षासमेत भएको महाशाखाले जनाएको छ ।
महाशाखाको विवरणअनुसार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २५.२ र न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको छ भने काठमाडौंमा १.८ मिलिमिटर वर्षा भएको छ । रासस
















प्रतिक्रिया