काठमाडौँ, १ कात्तिक । नेकपा एमालेले शनिबार आफ्नो मुख्यालय बल्खुमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालादेखि विभिन्न दलका शीर्ष नेतासम्म पुगेका छन् ।
चियापान कार्यक्रममा सहभागी हुँदै अधिकांश नेताले आगामी माग ८ भित्रमा नयाँ संविधान जारी गर्ने प्रतिवद्धता व्यक्त गरे ।
तर, ती अघिकांश नेताको त्यसका लागि एक–अर्का दललाई लचिलो हुनुपर्ने आग्रह गरे ।
कांग्रेस, एमाले र एमाओवादीका अधिकांश शीर्ष नेताले यस्तो आग्रह गरेका हुन् ।
प्रधानमन्त्री कोइराला भन्दा केही अघि बल्खु पुग्नुभएका एमाओवादी अध्यक्ष प्रचण्डले १२ बुँदेदेखि शान्ति सम्झौता, संविधानसभा हुँदै हतियार बुझाउँदै आफू लचिलो भएको भन्दै कांग्रेस र एमालेलाई लचिलो हुन आग्रह गर्नुभयो ।
प्रचण्डसँगै मञ्चमा रहनु भएका कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले पनि के कम प्रचण्डको भनाईको प्रतिउत्तर दिदैँ २२ दलसँगको गठबन्धनीय आन्दोलन फिर्ता लिएर सहमतिका लागि लचिलो हुन आग्रह गर्नुभयो ।

त्यस लगत्तै मञ्चमा बस्नु भएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रचण्डतिर फर्किएर उहाँले चाहे संविधान जारी हुने तर्क गर्नुभयो ।
क्रान्तिकारी स्वाभावका प्रचण्डले नेपालका भनाई पचाउन सक्नुभएन । उहाँले तुरुन्त जवाफ पर्काउँदै आफुले गर्नुपर्ने र सक्ने गरिसकेको भन्दै कांग्रेस र एमालेले अहंकार त्यागेर लचिलो हुनुपर्ने प्रस्ताव राख्नुभयो ।

प्रचण्ड पुगेको केही समयपछि बल्खु पुग्नु भएका प्रधानमन्त्री कोइरालाले पनि माघ ८ मा संविधान जारी हुने भन्दै एमाओवादी लचिलो हुनुपर्ने जिकिर गर्नुभयो । एमाओवादीसहितका दलले गरेको आन्दोलनले सहमतिको वातावरण विगारेको उहाँले तर्क गर्नुभयो ।

चियापान कार्यक्रममा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापा, एमाओवदी नेता नारायणकाजी श्रेष्ठ, मधेसवादी नेता विजयकुमार गच्छदारलगायतका नेता पुग्नुभएको थियो ।
निक्कै भिडभाड देखिएको बल्खुमा अधिकांश नेता–कार्यकर्ता भने फोटो खिच्नमा नै व्यस्त देखिन्थे ।


















प्रतिक्रिया