काठमाडौँ, ३१ असोज । नयाँ संविधानमा रहने प्रमुख चार विषयको टुङ्गो लगाउन बसेको प्रमुख तीन दलको बैठकमा शुक्रबार पनि सहमति जुटेन ।
नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत नेकपा (माओवादी)का शीर्ष नेताहरु सम्मिलित तीन दलको बैठकले राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका विषयमा सहमति जुटाउन नसकेको हो । ती विषयमा सहमति जुटाउन भन्दै तीन दलका शीर्ष नेताको बैठक निरन्तर बसिरहेको छ ।
“आजको बैठकले नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउन सहमति कायम छ भनेर प्रतिवेदन बुझाउने निर्णय गर्यो,” बैठकपछि एनेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।
नयाँ संविधानका विषयमा सहमति जुटाई प्रतिवेदन तयार गर्न दोस्रो पटक संवैधानिक राजनीतिक संवाद तथा सहमतिलाई दिइएको पाँचदिनको समय शुक्रबारसम्म रहेको छ । समितिमा विवादित विषयमा सहमति जुट्न नसकेमा संविधानसभाको पूर्ण बैठकको प्रक्रियामा जाने कि समितिको समयसीमा अरु थप गर्ने भन्ने विषयमा दलहरुबीच कुरा मिल्न सकेको छैन ।
नेता श्रेष्ठले भन्नुभयो, “हामी मिल्न नसकेका मुख्य चार विषयलाई सहमतिबाटै समाधान खोज्ने प्रयत्नमा छौं , निरन्तर संवादबाट सहमति खोजिरहेका छौँ ।”
तीन दलको बैठकमा काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्ण सिटौला र न्याय, कानुन तथा संसदीय व्यवस्था मन्त्री नरहरि आचार्य, एमालेका वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष विद्या भण्डारी तथा एकीकृत नेकपा (माओवादी)का तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, नेता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।
शुक्रबारको तीन दलको बैठकमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई आमन्त्रण गरिएको थियो । बैठकपछि नेकाका वरिष्ठ नेता देउवाले दलहरुबीच संविधानका विषयवस्तुमा सहमति कायम गर्न अथक प्रयत्न भइराखेको जानकारी दिनुभयो ।
“संविधानका विवादित चार विषयमा हामी बेलुकीसम्म केही न केही ठोस गुदी निकाल्छौं,” उच्चस्तरीय राजनीतिक समितिका संयोजक तथा एनेकपा माओवादीका अध्यक्ष दाहालले भन्नुभयो ।
















प्रतिक्रिया