काठमाडौं, ३० असोज । नेकपा एमालेका तर्फबाट सरकारमा सामेल भएका मन्त्रीहरुले बिहीबार सामुहिक रुपमा मन्त्रिपरिषद् बैठक बहिष्कार गरेका छन् ।
बिहान १० बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइए पनि सरकार संचालनका विषयमा असन्तुष्टि जनाउँदै एमालेका मन्त्रीहरु सामूहिक रुपमा बाहिरिएका थिए । त्यसलगत्तै मन्त्रीहरु आन्तरिक छलफलका लागि भन्दै एमाले संसदीय दलको कार्यालयमा पुगेका थिए । संसदीय दलको बैठकमा मन्त्रिपरिषद बैठकमा आएका एजेन्डाका विषयमा छलफल भएको थियो । दलको बैठक सकेर मन्त्रीहरु सोझै व्यवस्थापिका संसदको बैठकतर्फ हानिएका थिए ।
सरकार संचालनका विषयमा काँग्रेस र एमालेबीच पटकपटक दरार सिर्जना गर्ने गरेको छ । एमाले नेताले काँग्रेसलाई समान सत्तासाझेदारको रुपमा व्यवहार गर्न पटकपटक सार्वजनिक मञ्चबाटै ध्यानाकर्षण गराइरहेका छन् ।
एमालेका एक मन्त्रीले दैनिक नेपालसँग बैठक बहिष्कारको पुष्टि गर्दै काँग्रेसले सुकुम्वासी आयोग गठनको विषयमा हस्तक्षेप गर्न खोजेको, स्वास्थ्य बिमा सम्बन्धी नीति ल्याउन रोकेको, आफ्ना मन्त्रालयमा एकलौटी निर्णय गर्ने तर एमालेले नेतृत्व गरेका मन्त्रालयमा हस्तक्षेप गरेको आरोप लगाए । एमालेले बैठक बहिष्कार गरे पनि मन्त्रिपरिषद बैठकले हिमपात र अन्य विविध विषयमा निर्णय भने गरेको छ ।
















प्रतिक्रिया