४ कार्तिक २०८३, बुधबार

हिमपहिरोको विषयले तात्यो संसद, सांसदहरुले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC

काठमाडौँ, ३० असोज । व्यवस्थापिका–संसद्को बिहीबारको बैठक बैठक मनाङ, म्याग्दी र मुस्ताङ जिल्लामा हिमपात भई मानवीय क्षति भएकोमा केन्द्रीत भएको छ ।

बिहीबारको बैठक सुरु हुनेबित्तिकै सांसदहरुले असोज २८ र २९ गते मनाङ, म्याग्दी र मुस्ताङ जिल्लामा हिमपात भई विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शकहरुको मृत्यु तथा बेपत्ता भएकाले तत्काल खोज तथा उद्धार गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाली काँग्रेसका रोमी गौचन थकालीले मनाङ, म्याग्दी र मुस्ताङ जिल्लामा परेको हिमपातमा परी अकाल मृत्यु भएका तथा हराइरहेकाहरुको तत्काल प्राथमिकताका साथ खोज तथा उद्धार गर्न सरकारको ध्यान जाओस् भन्नुभयो ।

सांसद वीरबहादुर बलायरले सरकारले मौसमबारे पूर्व जानकारी पर्यटकलाई नदिएका कारण हिमपहिरोमा मानवीय क्षति भएको भन्दै अन्नपूर्ण पदमार्गमा मौसमबारे जानकारी दिन सूचना केन्द्र राख्न सुझाव दिनुभयो ।

नेकपा एमालेका श्रीमाया थकालीले हिमपातमा परी मृत्यु भएका तथा हराइरहेकाको खोज तथा उद्धारमा सरकारले प्राथमिकता दिन माग गर्दै यसबाट पर्यटन क्षेत्रमा नकारात्मक असर पर्न नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

एनेकपा (माओवादी)का हितराज पाण्डेले सरकारले हिमाली क्षेत्रमा पदमार्गमा जाने पर्यटकलाई मौसमबारे पूर्व जानकारी नदिएका कारण हालै परेको हिमपहिरोमा परी अकालमा उनीहरुको मृत्यु भएको बताउनुभयो ।

सांसद डिलबहादुर नेपालीले कति विदेशी पर्यटक तथा नेपाली पथप्रदर्शक हिमाली पदमार्गमा गएका थिए, यसबारे जानकारी दिन सरकारसँग माग गर्नुभयो ।

सांसद पेम्बा लामाले हिमाली जिल्ला मनाङ, म्याग्दी र मुस्ताङ जिल्लामा आएको हिमपहिरोबाट पु¥याएको क्षतिबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो ।