४ कार्तिक २०८३, बुधबार

हिउँमा हराएका थप पाँचजनाको शव भेटियो, दुईको सकुशल उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Annapurna-ma-himpat-army

म्याग्दी, ३० असोज । मुस्ताङ र मनाङको सिमाना थोराङ्पासमा हिउँमा फसेर हराएकामध्ये बिहीबार बिहान पाँचजनाको शव भेटिएको छ ।

घटनास्थलमा रहेको उद्धार टोलीले तीनजना विदेशी र दुईजना नेपालीको शव भेटाएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक गोविन्द पाठकले जानकारी दिनुभयो ।

दुईजना नेपाली, दुईजना विदेशी पुरुष र एकजना विदेशी महिलाको शव भेटिएको हो । उनीहरुको पहिचान खुलेको छैन । प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीका अनुसार उद्धार गरिएका घाइतेले उपलब्ध गराएको सूचनाका आधारमा बुधबार दिउँसोसम्म १६ जनाको मृत्यु भएको भनिए पनि चारजनाको मात्र पुष्टि भएको थियो ।

बुधबार इजरायलका नाडेभ, पोल्याण्डका रोवर्ट दुसर्कज, लुजअन्टोनस र पर्यटक सहयोगी नेपाली नागरिक पासाङको शव भेटिएको थियो ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको ५० जनाको उद्धार टोली परिचालन भएको प्रनाउ पाठकले बताउनुभयो । नेपाली सेनाको दुईवटा हेलिकप्टरमार्फत बेपत्ताको खोजी भइरहेको छ । मौसम खुलेकाले उद्धार तथा खोजी कार्य तीव्र बनाइएको छ ।

मुस्ताङको थोराङपास गरेर मुक्तिनाथ झर्ने क्रममा मङ्गलबार बिहानपख ड्रम्पक्याम्प क्षेत्रमा पुगेका अधिकांश पदयात्रीहरु हिउँ पर्न थालेपछि फसेका थिए । हिँडिरहेको अवस्थामा हिउँ परेर बाटो नदेखिपछि रोकिएका पदयात्री बाक्लो हिउँमा फसेका हुन् ।

मनाङबाट थोराङ्पास गर्न हिँडेका ३४६ जनामध्ये २४४ जना सुरक्षित मुक्तिनाथ आइपुगेकाले धेरै मानिस सम्र्पकविहीन भएका प्रनाउ पाठकले बताउनुभयो । सम्पर्कविहीन अवस्थामा रहेकामध्ये बुधबार १९ जनाको उद्धार गरिएको थियो ।

थोराङ्पास गर्नका लागि यो मौसम अनुकूल मानिन्छ । धेरै पर्यटक यो मौसममा अन्नपूर्ण पदयात्राको साहसिक गन्तव्य थोराङ्पासमा निस्कने गर्छन् । पाँच हजार ४१६ मिटर उचाइमा अवस्थित थोराङ्पास क्षेत्र पुग्न मुक्तिनाथबाट करिब चार घण्टा पैदल हिँड्नुपर्छ ।

प्राप्त पछिल्लो समाचारअनुसार मुदी गाविसको धौलागिरि आधारशिविरबाट थप दुईजना पर्यटकलाई सकुशल उद्धार गरिएको छ । मङ्गलबारदेखि सम्पर्कविहीन बनेका पर्यटकको खोजी कार्यका लागि हेलिकप्टरमार्फत गएको उद्धार टोलीले उनीहरुलाई उद्धार गरेको हो ।

बेसक्याम्पदेखि करिब ५०० मिटर तल अलपत्र अवस्थामा रहेका भारतीय नागरिक पवन विष्ट र अमेरिकी बरद राजनलाई उद्धार गरी बेनी ल्याइएको प्रहरी नायब उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो ।

तीनजना नेपालीसहित दुईजना स्लोभाकियाका पर्यटकको खोजी कार्यका लागि हेलिकप्टरमार्फत आज बिहान म्याग्दीका प्रनाउ जिसीसहित गएको उद्धार टोलीले थप दुईजनाको उद्धार गरेको हो । मङ्गलबारदेखि बेपत्ता भएका पाँचजनाको भने अहिले खोजी कार्य जारी रहेको छ ।

यता, हिमपातबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इमर्जेन्सी कन्ट्रोल सेन्टर आज बिहानैदेखि सक्रिय रहेको छ ।

खोज तथा उद्धारका लागि बिहानैदेखि जोमसोम, मनाङ, बेनीलगायतका क्षेत्रमा चारवटा हेलिकप्टर परिचालित भई उडान भरिरहेको सो केन्द्रले जनाएको छ ।

काठमाडौँबाट थप हेलिकप्टर केही समयअगाडि प्रस्थान गरिसकेको र अन्य तीन हेलिकप्टर सो क्षेत्रमा जाने तयारीमा रहेका छन् ।

त्यसैगरी नेपाली सेनाका दुई हेलिकप्टर सो क्षेत्रमा उडान गरिरहेका र नेपाली सेनाकै एक वायुयान प्रभावित क्षेत्रमा जाने तयारीमा रहेको जनाइएको छ ।