शनिबार, ३० कार्तिक २०७६
DainikNepal.com
शनिबार, ३० कार्तिक २०७६

यसकारण भएछ डोटीमा बस दुर्घटना

दैनिक नेपाल २०७१ असोज २५ गते २२:३२

Accident

सिद्धराज भट्ट

धनगढी, २५ असोज । बस चलाउनै नमिल्ने बिग्रेको कच्ची सडकमा लापरवाही गर्दै क्षमताभन्दा दोब्बर बढी सङ्ख्यामा यात्रु राखेर किन बस चलाउनुपरेको होला ?

डोटीमा गत सोमबार भएको कहालीलाग्दो बस दुर्घटनापछि यतिबेला यस क्षेत्रका सर्वसाधारण दिनहुँ बस व्यवसायी र चालकतर्फ लक्षित गर्दै यस्तै प्रश्न गरेर दुर्घटनामा धेरै व्यक्तिको मृत्यु भएकोप्रति दुःख व्यक्त गरिरहेका छन् ।

बस दुर्घटनाबाट ठूलो मानवीय क्षति पुगेकाले पनि सबैलाई यो घटना छोएको मात्र नभई धेरैलाई शोकाकूलसमेत बनाएको छ । घटनामा सबैभन्दा बढी सरस्वतीनगर गाविसका मात्रै २० जनाको ज्यान गएपछि यो गाविस चाडवाडको समयमा पुरै शोकमा डुबेको छ । यो गाविसका एकै घर परिवारका दुई/तीन जनासम्मले बस दुर्घटनामा ज्यान गुमाएका छन् ।

नेपालीको महान चाड वडादसैँको खुशीयाली नसकिंदै भएको त्रासदीपूर्ण यो बस दुर्घटनामा डोटीको जोरायल क्षेत्र (लक्ष्मीनगर गाविस र सरस्वतीनगर गाविस)का अधिकांस यात्रुको अकालमै ज्यान गएपछि बसको यात्रा अब जोखिमपूर्ण हुन थालेको भन्दै कतिपय बसको यात्रा गर्न पनि अहिले डराउन थालेका छन् ।

नेपालीको महान चाड बडादसैँमा मान्यजनबाट टीका थापेर फर्किरहेकाका लागि त्रासदीपूर्ण बस दुर्घटनाले यसपालिको दसैँ दशा बन्न पुग्यो ।

बस दुर्घटनाको दृश्य र यसवाट पुगेको मानवीय क्षतिले त कतिपयले सवारी तथा यातायात व्यवस्था ऐनको प्रभावकारी कार्यान्वयनमा नियमनकारी निकाय उदासिन बनेको गुनासो समेत गर्न थालेका छन् ।

सवारी तथा यातायात व्यवस्था ऐनमा सर्वस्वसहित जन्मकैदको व्यवस्था गरिए पनि सुदूरपश्चिममा अहिलेसम्म कसैले पनि यो सजाय पाएको सुन्नमा आएको छैन ।

‘घटना भएको दुई दिनसम्म जोरायल क्षेत्रका कसैका घरको चुलोमा आगो बलेन, स्थानीय खगेन्द्र भण्डारीले भन्नुभयो, ‘बरु उनीहरू घटना भएको दिन भोको पेटमै अध्यारो रात र वर्षाको परवाह नगरी घटनामा परेका आफन्तको उद्धारका लागि सल्लाको झुरा बालिएको उज्यालोमा घटनास्थलमा पुगेका थिए ।’

दसैँ मनाउन आ–आफ्ना घर र आफन्तकहाँ गएर फर्किरहेका २९ जनाको दुर्घटनामा मृत्यु भएको थियो । घाइते करिब ७६ जनामध्ये झण्डै ६० जना भारत र नेपालका विभिन्न अस्पतालमा अहिले पनि जीवनमरणको अवस्थामा उपचाररत् छन् । घाइतेको उपचारमा लापरवाही गरिएको गुनासो घाइतेका आफन्तले गरेका छन् ।

जोरायलवासीका लागि यो बस दुर्घटना नै सबैभन्दा ठूलो विपत्तिको रुपमा देखिँदा अबका दिनमा यस्ता दुर्घटना हुन नदिन सजग हुनुपर्छ भन्ने चेत अहिले आएर खुल्न थालेको पाइएको छ ।

‘दुर्घटना निम्तनुमा चालक दोषी त छन् नै, एउटै बसमा क्षमताभन्दा बढी यात्रु कोचेर राखिएको अवस्थामा यात्रु पनि दोषी देखिन्छन्, स्थानीय यादव जोशीले भन्नुभयो, ‘कतिपय क्षेत्रका सडकमा सवारी नियमको उल्लङ्घन गरेर गाडी चालउँदासमेत प्रहरी बेखबर जस्तै बन्ने गरेकाले पनि दुर्घटना रोकथाम हुन सकेको छैन ।’

डोटीको जोरायलस्थित चनकट्टेको बस बिसौनीबाट बिहान १० बजे धनगढीका लागि छुटेको ना३ख ५७०७ नं को उक्त बस जोरायलको समथर भूमिमै रहेको गोवनी गाड (नदी)मा फसेपछि ढुङ्गा बिछ्याई खोलाबाट सो बस निकालिएको थियो । यस क्रममा बसको अगाडिको पत्ता भाँचिएपछि चालकले फलामे तारले बाँधेर बस पुनः गन्तव्यतर्फ हिँडाएका थिए । त्यसपछि रावल गाउँबाट सुरु भएको बाँझीलेकको उकालोमा बस सहजै गुडेको भएपनि छतिवन गाविसको बनलेकको ओरालो सुरु भएसँगै बस अचानक करिब ३०० मिटर तल भीरमा खसेर दुर्घटनाग्रस्त हुन पुगेको स्थानीय गोविन्द भण्डारी बताउनुहुन्छ ।

पहाडमाथिबाट वर्षाको भेलले बगाएर ल्याएको ढुङ्गामाटोले सडकको सतह बिग्रिएकामा चालकले ढुङ्गा माटो थुप्रिएको अग्लो भागमा बसको पाङ्ग्रा चढाउँदा सन्तुलन गुम्न गई बस भीरमा खसेको भण्डारी बताउनुहुन्छ ।

सामान्यतया ५५ देखि ६५ जना यात्रु अटाउने क्षमताको बसमा करिब १३५ यात्रुसम्म कोचेर राखेको र बसको छतमा पनि यात्रु र खाद्यान्नसमेत राखिएको थियो ।

बुडरदेखि जोरायलसम्मको यो कच्ची सडकमा वर्षायाममा बाटो बिग्रिएकामा फूलपातीको केही दिन अघिदेखि मात्रै बस र अन्य साना सवारी साधन चलाउन थालिएको थियो ।

कच्ची र जोखिम बाटोमा त्यति धेरै यात्रु कोचेर बस चलाउनु चालकको ठूलो गल्ती भएको बस व्यवसायी केशव मडै स्वीकार्नुहुन्छ । यस्ता दुर्घटना हुन नदिन सवारी चालक अनुमतिपत्र दिँदा परिपक्व र अनुभवीलाई मात्र दिनुपर्ने, सडकको अवस्थामा सुधार गर्नुपर्ने, ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने र यात्रुमा पनि चेतना अभिवृद्धि गर्न जरुरी भइसकेको मडै बताउनुहुन्छ ।

यता क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक सूर्यप्रशाद उपाध्याय ट्राफिक प्रहरीको पहँुचमा नपुगेको कच्ची सडकमा अनुमतिबेगर आफुखुशी बस चलाइएको देखिएको बताउनुहुन्छ ।

चालकको लापरवाहीले बिग्रेको कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु राखेर बस चलाउनु नै दुर्घटनाको मुख्य कारण देखिएको छ, उपाध्यायले भन्नुभयो, यात्रुको सुरक्षाको प्रत्याभूति नहुने गरी बिग्रिएका कच्ची सडकमा सवारी चल्न नदिनु र सरोकारवाला सवै सचेत हुनु नै दुर्घटना न्यूनीकरणको उत्तम उपाय हो ।’

दुर्घटना न्यूनीकरणको प्रयासस्वरुप ट्राफिक प्रहरीको क्षेत्रीय कार्यालयले सवारी साधनको गति मापन गर्ने ‘राडर गन’ नामको उपकरण सुदूरपश्चिममा प्रयोगमा ल्याएको केही हप्ताभित्रमा डोटीमा कहालीलाग्दो बस दुर्घटना भएको छ । दुई वर्षदेखि गति नियन्त्रण गर्न टाइम कार्ड (निश्चित समयतालिका) पनि प्रहरीले लागू गर्दै आएको छ ।

सवारी दुर्घटना हुन नदिन ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय, सडक विभाग र यातायात व्यवसायीलगायतका सरोकारवाला निकायबीच नियमितरुपमा आपसी तादात्म्यता हुन जरुरी भइसकेको महसुस सर्वत्र गर्न थालिएको छ ।

प्रतिक्रिया
सम्बन्धित