काठमाडौँ, २३ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातीय राज्यको परिकल्पनासमेत गर्न नसकिने बताउनुभएको छ ।
एमाले संसदीय दलको बिहीबार बानेश्वरमा बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – प्रत्येक गाउँमा जातजातिको बसोवास छ, के सबै जातजातिका नाममा राज्य बाँड्दै हिँड्ने ?
अध्यक्ष ओलीले नेपाल, नेपाली, नेपालको राष्ट्रिय झण्डा, राष्ट्रिय भाषा र राष्ट्रियताका बारेमा नयाँ बन्ने संविधानमा कुनै फेरबदल हुन नसक्ने जानकारी दिनुभयो ।
उहाँले मुलुकभित्र बहुजातीय, बहुभाषिक, विविधतायुक्त र मिश्रित जातजातिको बसोवास भएकाले सबै वर्ग, जाति, भाषा र संस्कृतिको हित हुने गरी सङ्घीयताको निर्माण हुनुपर्ने बताउनुभयो ।
वरिष्ठ नेता माधवकुमार नेपालले जुनै सहमति गरेर भए पनि माघ ८ गते संविधान जारी गर्नुपर्ने बताउँदै स्थानीय निकाय निर्वाचनका लागि एमालेले सहमतिको वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी, उपाध्यक्ष वामदेव गौतमले सरकारमा सामेल पार्टीका मन्त्री र दलबीच समन्वय कायम हुनसकेमा तोकिएकै समयमा संविधान जारी हुन सक्छ भन्नुभयो ।
बिहीबारको बैठकले मन्त्रीलाई दलको बैठकमा हरेक सोमबारदेखि बुधबारसम्म (पाँच दिन)मा आमन्त्रण गरी जनताका समस्या र सभासद्का सवाल–जवाफ कार्यक्रम गर्ने निर्णय गरेको छ ।
बैठकमा एमालेका सभासद्हरूलाई अध्यक्ष ओलीले राष्ट्रिय झण्डाको लोगो वितरण गर्दै त्यसलाई अनिवार्य लगाउन आग्रह गर्र्नुभएको थियो ।
















प्रतिक्रिया