बागलुङ, २३ असोज । सीपयुक्त श्रमिक (स्किल लेबर) राहदानीमा जापान पुगेका जिल्लाको गलकोट भेगका युवा अहिले व्यवसायतिर लागेका छन् ।
सीपयुक्त श्रमिकका रूपमा जापानमा केही वर्ष काम गरेपछि आफ्नै लगानीमा व्यवसाय गर्नेको सङ्ख्या बढेको हो । गलकोट समाज जापानका अनुसार जापानमा अधिकांश नेपालीले रेष्टुरेन्टमा लगानी गरेका छन् ।
अन्य राहदानीमा गए पनि त्यहाँ पुगेपछि केही समयको तालिम, लगानीको स्रोत देखाएपछि कम्पनी दर्ता गर्न मिल्ने व्यवस्था रहेको छ । कम्पनी दर्ताकै आधारमा व्यवसाय राहदानी बनाउन सकिने गलकोट समाज जापानका अध्यक्ष एवम् रेष्टुरेन्ट व्यवसायी हर्क थापाले बताउनुभयो ।
पन्ध्र वर्षअघि कुक राहदानीमा जापान पुग्नुभएका थापाका अहिले ओशाकामा चारवटा रेष्टुरेन्ट छन् । १० वर्षदेखि जापान बस्दै आएकाले भने सिधै व्यवसाय सञ्चालनको अनुमति पाउने गरेका छन् ।
बागलुङको गलकोट भेगबाट जापान पुगेका करिब ५०० भन्दा बढी व्यक्तिले रेष्टुरेन्ट व्यवसाय सञ्चालन गरेको बताइन्छ । “एकिन सङ्ख्या थाहा हुन नसके पनि, हाम्रो आँकलनमा गलकोटेका मात्रै ५०० जति रेष्टुरेन्ट यहाँ सञ्चालित छन्”, थापाले भन्नुभयो, “व्यवसाय गर्ने अधिकांशले रेष्टुरेन्ट व्यवसाय गर्ने गरेका छन्, अन्य व्यवसाय गर्ने एक÷दुई प्रतिशतमात्रै होलान् ।”
गलकोटबाट जापान पुगेका एउटै व्यक्तिले चारदेखि सातवटासम्म रेष्टुरेन्ट चलाएर बसेका छन् । हटिया घर भई हाल जापानमा रहनुभएका शान्त खत्रीले टोकियोमा सातवटा रेष्टुरेन्ट सञ्चालन गरिरहनुभएको छ । न्यूनतम ५० लाखदेखि पाँच करोडसम्मको लगानीमा रेष्टुरेन्ट खोलिएका छन् ।
विशेषगरी जापानी र अन्य विदेशी पाहुनालाई लक्षित गरेर नेपालीले रेष्टुरेन्ट खोल्ने गरेको टोकियोमा रहनुभएका रामकृष्ण बम मल्लले बताउनुभयो ।
जापानका मुख्य सहरहरू टोकियो, नागोया र ओसाकामा त्यस्ता रेष्टुरेन्ट बढी छन् । रेष्टुरेन्ट व्यवसाय गर्नेमा ६० प्रतिशत जति बागलुङे नै भएको बताइन्छ । नेपाली इन्डियन कुक सिकेका युवा केही वर्ष काम गर्ने र पैसा कमाएपछि आफ्नै लगानीमा रेष्टुरेन्ट खोल्ने गरेको मल्म–९ घर भई हाल टोकियोमा रहनुभएका व्यवसायी गुमानसिंह थापाले बताउनुभयो ।
मासिक ८० देखि चार/पाँच लाखमाथिसम्म भाडा तिरेर गरिएको व्यवसायबाट महिनामै लाखौँ रुपैयाँ कमाई हुने व्यवसायीहरू बताउँछन् ।
















प्रतिक्रिया