१ कार्तिक २०८३, शनिबार

विद्युत प्राधिकरणमा जागिरको दरखास्त दिन आठ घण्टा लाइन, दैनिक हजारौंको भीड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २३ असोज । नेपाल विद्युत् प्राधिकरणले माग गरेको रिक्त पदमा दरखास्त दिन भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बिहानैदेखि हजारौंको भीड लाग्ने गरेको छ ।

प्राधिकरणले गत भदौ २२ गते रिक्त पदमा सबै तह र क्षेत्रमा गरी एक हजार ६६९ जना जनशक्तिको माग गरेपछि दैनिक हजारौंको सङ्ख्यामा दरखास्त बुझाउनेको भीड लाग्ने गरेको हो ।

देशमा शिक्षित बेरोजगारीको सङ्ख्या दिनानुदिन बढ्दै गएपछि प्राधिकरणले माग गरेको विभिन्न तहमा आवेदन दिनको भीड लागेको हो ।

प्राधिकरणले काठमाडौंबाहेक विराटनगर, जनकपुर, हेटौंडालगायतका आठ स्थानबाट आवेदन दिनसकिने व्यवस्था गरे पनि खरिपाटीमा भने अन्यत्रभन्दा निकै भीड भएको कर्मचारीले बताएका छन् ।

दरखास्त बुझाउन बिहानैदेखि आठ घण्टासम्म लाइन बस्नुपरेको आवेदकले बताएका छन् । प्राधिकरणले आवेदकले तालिम केन्द्र परिसरभित्र रहेको ज्योति विकास बंैकमा दस्तुर बुझाएर भौचर लिनुपर्ने र सोही भौचरसहित केन्द्रमा फारम बुझाउनुपर्ने व्यवस्था गर्दा थप समस्या परेको आवेदकहरूले बताए ।

एकै ठाउँमा दस्तुर र फारम बुझाउने व्यवस्था नगर्दा बैंकमा चार घण्टासम्म र फारम बुझाउने ठाउँमा अर्को चार घण्टासम्म लाइन बस्नुपर्ने बाध्यता भएको काभ्रेबाट आएकी राधिका खतिवडाले बताउनुभयो । फारम बुझाउन कम्तीमा छदेखि आठ घण्टासम्म लाइन बस्नुपरेको उहाँको भनाइ छ ।

सुर्खेत घर भई हाल बानेश्वर बस्दै आएकी अम्बिका भण्डारीले चार घण्टा लाइन बसेर दस्तुर बुझाएको र अर्को चार घण्टा लाइन बसेर फारम बुझाएको बताउनुभयो ।

फारम बुझाउन बिहानैदेखि लाइन बस्नुपरेको बताउँदै सिन्धुली घर भई चाबहिल बस्ने कुमार शर्माले फारम बुझाउन दुई दिनसम्म लाइन बस्नुपरेको गुनासो गर्नुभयो ।

चर्को घाममा लाइन बस्नु पर्दा केही व्यक्ति बेहोस नै हुने गरेको उनीहरूको भनाइ छ । खरिपाटीबाट मात्रै अहिलेसम्म करिब दुई लाखले आवेदन दिएको कर्मचारीले बताएका छन् । आवेदन यही असोज ३१ गतेसम्म दिन सकिनेछ । रासस