काठमाडौँ, २३ असोज । पूर्व सभामुख तारानाथ रानाभाटले हिन्दू राष्ट्र नेपालको विश्वमै एकमात्र पहिचान भएकाले यसलाई मेट्न नहुने बताउनुभएको छ ।
विपी चिन्तन प्रतिष्ठान र हिन्दू राष्ट्र नेपाल नागरिक सङ्घर्ष समितिले आयोजना गरेको राष्ट्र, राष्ट्रियता र सनातन हिन्दू राष्ट्र नेपाल विषयमा नेपाली काँग्रेसका नेता एवम् कार्यकर्ताबीच आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा नेता रानाभाटले हिन्दू राष्ट्रको पहिचान हुँदा नेपाल घुम्न आउने धार्मिक पर्यटकको सङ्ख्या बढ्ने गरेकामा यो पहिचान मेटाइएपछि धार्मिक पर्यटकको सङ्ख्यामा समेत कमी आउन थालेको उल्लेख गर्नु भयो ।
काँग्रेसका नेता खुमबहादुर खडकाले हिन्दू राष्ट्र नेपालको व्यवस्था भएको २०४७ सालको संविधान च्यात्न दरबारले नै चलखेल गरेको प्रमाण आफू गृहमन्त्री भएका बेला पाएको बताउदै हिन्दु राष्ट्रलाई राजतन्त्रसँग जोडेर नहेर्न आग्रह गर्नुभयो ।
संविधानसभाले हिन्दु राष्ट्र लेख्न नसके आन्दोलनको आँधीबेरीले नै हिन्दु राष्ट्र बनाएर छोड्ने नेता खड्काले बताउनुभयो ।
काँग्रेस केन्द्रीय सदस्य दीपकुमार उपाध्यायले नेपाल धर्मले रक्षा गरेको देश भएकाले वैदिक सनातन धर्मलाई कसैले मेटाउन नसक्ने धारणा राख्नु भयो ।
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले धर्म निरपेक्ष राष्ट्र घोषणा गरेर नेपालको आपसी सद्भाव र सहिष्णुतामा खलल ल्याउने प्रयास गरिएकाले यसलाई बेलैमा सच्याइनुपर्ने बताउनुभयो ।
काँग्रेस पूर्व केन्द्रीय सदस्य पूर्णकुमार शेर्मा र सभासद राजीवविक्रम शाहले आत्माले हिन्दु राष्ट्र हुनुपर्छ भन्नेहरू अब खुलारुपमा धारणा राखेर अगाडि आउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वमन्त्रीहरू ओमकार श्रेष्ठ, चिरञ्जीवी वाग्ले, रामचन्द्र अधिकारीलगायतका वक्ताले हिन्दू राष्ट्रको संविधान संविधानसभाबाट नलेखिए सशक्त आन्दोलन गरी आन्दोलनकै बलबाट हिन्दु राष्ट्र कायम गरी छोडिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
















प्रतिक्रिया