गोरखा बजार, २२ असोज । नेपालको प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर वरपर घरैपिच्छे होटल खुल्ने क्रम बढ्दै गएको छ ।
पुरानो बजार, नयाँबजार र बीच बजारका घरमा पछिल्लो समय होटल खुल्ने क्रम बढेको हो । यहाँको उद्योग वाणिज्य सङ्घमा अहिले ४७ वटा होटल दर्ता छन् ।
गोरखा उद्योग वाणिज्य सङ्घ मनकामना इकाइका अध्यक्ष दिनेश जोशीका अनुसार खुलेका सबै होटल एण्ड लज दर्ता भएका छैनन् । एक सयभन्दा बढी सङ्ख्याका साना होटल सङ्घमा दर्ता नभएको उहाँले जानकारी दिनुभयो ।
मनकामनाका सबै होटलमा गरी एक दिनमा तीन हजार पाहुना राख्न सकिने जोशीको भनाइ छ । “यहाँ खुलेकामध्ये सबैभन्दा ठूलो होटल सनराइज हो । त्यसमा करिब ८० जना अटाउँछन्”, अध्यक्ष जोशीले भन्नुभयो– अन्य सबै होटलमा ३० जनाभन्दा बढी अटाउँछन् । पछिल्लो समय होटलमा लगानी गर्नेहरू बढेको उहाँले बताउनुभयो ।
केबुलकारको निर्माण भएपछि तल्लो बजारको दायाँबायाँ होटल खुल्ने क्रम बढेको उहाँको भनाइ छ । मनकामनामा रु पाँच लाखदेखि रु एक करोड लगानीमा होटल खुलेको होटल व्यवसायी विशाल गजुरेलले जानकारी दिनुभयो ।
मनकामना दर्शन गर्न आउनेमध्ये करिब पाँच प्रतिशतमात्रै होटलमा बस्ने गर्छन् । शुक्रबार मनकामनाको होटल खचाखच भए पनि अन्य दिन भने खाली हुने व्यवसायीको भनाइ छ ।
“एक दिनमा पाँच हजार भक्तजन मनकामना दर्शन गर्न आउँछन्”, उहाँले भन्नुभयो– दर्शन गरेर धेरैजसो फर्कन्छन् । बसाइँ लम्ब्याउन सकिएको छैन । मनकामनामा खुलेका होटल एण्ड लजबाट एक दिनमा रु बीस लाखको कारोबार हुने व्यवसायीले बताएका छन् । रासस














प्रतिक्रिया