१ कार्तिक २०८३, शनिबार

दसैँ किन दशा बन्ने गर्छ ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Accidentसिवी अधिकारी

काठमाडौँ, २२ असोज । वर्ष दिनमा एक पटक मनाइने नेपालीहरुको महान् चाड बडादसैँ हरेक वर्ष धेरैलाई दशा बन्ने गर्दछ ।

चाडबाडको मौकामा राजधानी काठमाडौँलगायत अन्य टाढा टाढा ठाउँबाट आफन्तजनसँग भेटघाट र खुसी बाँड्न धेरैलाई लामो दूरीको यात्रा पार गर्नुपर्ने बाध्यता छ ।

दसँैको मौका पारेर यातायात व्यवसायी पैसा कमाउने लहडमा लाग्दा वर्ष दिनको पर्व मनाउन लामो पार गर्नुपर्ने कतिपयले अकालमै ज्यान गुमाउन पुग्छन् भने कतिपय अङ्गभङ्ग र घाइते हुन्छन् । पैसा कमाउने दाउमा बस व्यवसायीले सिट क्षमताभन्दा बढी यात्रु राखेर जोखिमपूर्ण यात्रा गराउँदा हरेक वर्ष दुर्घटना बढ्दै गएका छन् ।

गाउँघरका भिरपाखाका र साँघुरा कच्ची सडकमा समेत बसमा यात्रुलाई गुन्द्रुक झैँ खाँदेर यात्रा गराउँदा दुर्घटना बढेको हो ।

यसपालिको दसैँमा कैलालीको डोेटी, सिन्धुपाल्चोक, चितवनलगायतका जिल्लामा भएका दुर्घटना हेर्दा चालकको लापर्बाही, सिट क्षमताभन्दा बढी यात्रु कोच्ने, साँघुरा कच्ची सडकको मर्मत नगरिनु तथा यात्रु स्वयम् सजक नभएको देखिएको छ । सरकारी तवरबाट यातायात सेवामा सुधारका लागि विभिन्न खाले प्रयास नभएका भने हैनन् तर ती केवल कागजी प्रचारबाजी जस्तो मात्र भएको छ ।

सडकमा सवारी व्यवस्थापनको जिम्मेवारी लिएको ट्राफिक प्रहरी, यातायात व्यवस्था हेर्ने यातायात व्यवस्था विभाग र सडक निर्माण, मर्मत तथा सुधारको जिम्मेवारी लिएको सडक विभागबीच आपसी तादात्म्यता नभएको पाइएको छ ।

आफ्नो हैसियतभन्दा बढी हौसिएर धेरै खर्च गर्ने प्रवृत्तिले पनि धेरैलाई आर्थिक सङ्कटमा पार्ने गरेको छ । अर्कालाई देखाउनकै लागि ऋण काँडेर भए पनि चाडपर्वका बेला दसैँ मान्ने परम्परा नेपाली समाजमा व्यापक छ ।

पूर्वतर्फ चल्ने लामो दूरीका धेरै सवारीसाधनमा दुई जना चालक राखिएको देखिएन । ट्राफिक प्रहरीको आँखा छल्नकै लागि भए पनि पश्चिमतर्फ लामो दूरीका बसले चालक साटासाट गरेर दुईजना चालकले गाडी चलाएको देखिएको छ ।

धरान–काठमाडौँ रुटका व्यवसायीसमेत रहेका एक चालकले भने – “दसैँको बेला पैसा कमाउनु प¥यो । के को नियम र संहिता ? ”

यातायात व्यवसायीको मनोमानी र लापर्बाहीलाई रोक्न सरोकारवाला निकाय मात्र हैन यात्रु स्वयम् पनि अब सजक हुनुपर्छ भन्नुहुन्छ, कल्पना दाहाल । हरेक यात्राका क्रममा चालक, सिट क्षमता र बसको अवस्थाबारे आफूले जिज्ञासा राख्दा निकै भनाइ खानुपरेको अनुभव यात्रु सरिता राउतको छ ।

भोजपुर–धरान रुटमा यात्रा गर्ने सन्तोष अधिकारी केही समय धैर्यता गर्न नसक्ने यात्रुको कमजोरीका कारण बस खचाखच भएर दुर्घटना बढ्ने गरेको बताउनुहुन्छ । धरान–काडमाडौँ रुटमा चल्ने एरोमा डिलक्सका सहचालक रक्की मगर यस पेसामा लागेको तीन वर्ष भए पनि दसैँकै लामो रुटको रात्रि सवारीमा काम गर्न थालेको एक हप्ता मात्रै भयो । साहुले धेरै पैसा आउँछ भनेपछि उनी रात्रि बसमा काम गर्न थालेका रहेछन् ।

मुलुकमा पछिल्लो समय भएका अघिकांश सवारी दुर्घटना चालककै लापर्बाहीले हुने गरेको प्रहरीको भनाइ छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वसन्तराज पन्तले सहमति विपरीत यातायात व्यवसायीले मनोमानी गरेर लामो दूरीका सवारीसाधनमा दुई जना चालक नराखेको पाइएकाले पुनः सजक गराइएको बताउनुभयो ।

उहाँले हालै डोटीको घटना पनि चालकको लापर्बाहीले गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको बताउनुभयो ।

उहाँका अनुसार यसपटक दसैँमा काठमाडौँ उपत्यकामा दुर्घटना न्यून (पाँच दिनमा ३० वटा) भए । गत वर्ष यो सङ्ख्या ४६ थियो । रासस