काठमाडौं, २२ असोज । एकीकृत नेकपा माओवादीका सचिव बर्षमान पुन अनन्तले सहमति छाडेर बहुमतको आडमा प्रक्रियाबाट संविधान जारी गर्न खोजे आफूहरु संविधानसभा छाडेर सडक आन्दोलनमा जाने चेतावनी दिनुभएको छ ।
राजधानीमा आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो – ‘प्रक्रियामा जाने अवस्थामा हाम्रो लागि संविधानसभा सहायक हुन्छ सडक प्रधान हुन्छ । हामीलाई पनि ३५ लाख जनताले भोट दिएका छन् । यसको अपमान सहिँदैन ।’
संघीयतामा एमाले र काँग्रेस लचिलो भए शासकीय स्वरुपमा आफूहरु लचिलो हुन तयार रहेको स्पष्ट पार्दै उहाँले शासकीय स्वरुप, राज्यको पुर्नसंरचना, न्यायप्रणाली र निर्वाचन प्रणालीमा सहमति हुनै पर्ने बताउनुभयो । उहाँले भन्नुभयो– अन्य विषयमा प्रक्रियाबाट जान हामी तयार छौँ ।
मुलुकको ट्रयाकविहीन रहेको राजनीतिलाई सहमतिले नै ट्रयाकमा ल्याएको भन्दै उहाँले संविधानसभानिर्वाचनपछि सहमतिको राजनीतिको मर्मविपरित बहुमतको आधारमा राजनीति गर्न खाजेकोले कुरा बिग्रिएको दाबी गर्नुभयो । उहाँले २२ दलको आन्दोलन दवावको लागि मात्रै भएको समेत स्पष्ट पार्नुभयो ।
सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले पहिलो संविधानसभा जे कारणले विघटन भयो अहिले पनि कुरा त्यही अडकिएको भन्दै कुनै पनि विषयबस्तुहरुमा अहिलेसम्म सहमति कायम हुन नसकेको दावी गर्नुभयो ।
काग्रेस र एमालेले खल्तीबाट झिकेर ल्याएको खाका र प्रक्रियाबाट जारी गरेको संविधान कुनै पनि हालतमा स्विकार्य नहुने स्पष्ट पार्दै उहाँले प्रक्रियामा जान खोजे मुलुकमा फेरि संविधान नबन्ने ठोकुवा गर्नुभयो ।
















प्रतिक्रिया