झापा, २२ असोज । पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै लिम्बुवान् क्रान्तिकारी पार्टीले आज बिहानैबाट मेची राजमार्ग अवरुद्ध पारेको छ ।
पाँचथरको फिदिमबाट प्रहरीले केही महिनाअघि पक्राउ गरेका पार्टीका कार्यकर्ता मनिष हेल्लोकलाई बिनासर्त रिहाइको माग गर्दै उक्त पार्टीले आजबाट अनिश्चितकालका लागि मेची राजमार्ग अवरुद्ध पारेको हो ।
लिम्बुवान् क्रान्तिकारी पार्टीको बन्दका कारण बिहानैबाट झापा हुँदै ताप्लेजुङसम्म जाने र ताप्लेजुङबाट पाँचथर, इलाम, हुँदै झापा आउने सवारीसाधन ठप्प भएको अञ्चल प्रहरी कार्यालय मेची चन्द्रगढीले जनाएको छ । अचानकको बन्दका कारण यात्रु समस्यामा परेका छन् ।
पार्टीका केन्द्रीय अध्यक्ष मिसेकहाङका अनुसार आफ्ना कार्यकर्ता हेल्लोकलाई पाँचथरको कावेली करिडोरका ठेकेदारलाई बन्धक बनाइको आरोपमा पाँचथर प्रहरीले पक्राउ गरेको हो ।
हेल्लोक कावेली करिडोरसँग आइएलओ १६९ का सम्बन्धमा परामर्श गर्ने क्रममा प्रहरीले झुटो आरोप लगाई पक्राउ गरेको अध्यक्ष मिसेकहाङको भनाइ छ ।
उनलाई तत्काल रिहा नगरे कात्तिक १ गतेबाट दोस्रो चरणको आन्दोलन सुरु गरिने बताइएको छ ।
















प्रतिक्रिया