१ कार्तिक २०८३, शनिबार

बस दुर्घटनामा पत्रकार शाहीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

abhiyan_1394878626धनगढी, २१ असोज । डोटीमा सोमबार भएको बस दुर्घटनामा परी पत्रकार कर्णबहादुर शाहीको मृत्यु भएको छ ।

डोटीको सरस्वतीनगर गाविस–२ घर भएका ३० वर्षीय पत्रकार शाही आर्थिक अभियान राष्ट्रिय दैनिक पत्रिकाका धनगढी संवाददाताका रुपमा विगत लामो समयदेखि कार्यरत थिए ।

धनगढीबाट प्रकाशित हुँदै आएको लेखाजोखा साप्ताहिक पत्रिकाका प्रकाशक/सम्पादकसमेत रहेका पत्रकार शाही दसैँ मनाउन घर गएका थिए ।

यसैगरी नेपाली सेनामा कार्यरत सरस्वतीनगर–८का नवराज भट्ट र कञ्चनपुरमा विद्यालय निरीक्षक पदमा कार्यरत सोही वडाकै ३० वर्षीय टेकराज भट्टको पनि दुर्घटनामा परी मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आज बिहानसम्म २९ पुगेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

डोटीको जोरायलबाट धनगढीतर्फ आउँदै गरेको ना३ख ५७०७ नं को बस बुडर–जोरायल सडकअन्तर्गत पर्ने छतिवन गाविसको वनलेक सडकखण्डमा सडकबाट झन्डै ३०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परी घाइते भएका ५७ जनालाई प्रहरीले उद्धार गरी उपचारार्थ विभिन्न अस्पतालमा पठाएको छ । घाइतेमध्ये २० जनाको अवस्था अझै गम्भीर रहेको प्रहरीले बताएको छ ।