काठमाडौं, २१ असोज । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले बडादसैँका असरमा शुभकामना आदान प्रदानका लागि चियापान कार्यक्रमको आयोजना गरेको छ ।
पार्टी मुख्यालय सानेपामा आज भएको चियापान कार्यक्रममा कांग्रेसले नेता, कार्यकर्ता, शुभेच्छुक, मन्त्री, विभिन्न दलका नेता, मजदुर, संवैधानिक निकायका पदाधिकारी र सदस्य, कुटनीतिक नियोगका प्रतिनिधि, सुरक्षा निकायलगायतलाई बोलाएको थियो ।
चियापानमा समर्थक र शुभेच्छुकहरू सहभागी भएको कांग्रेसले जनाएको छ । अघिल्ला वर्षहरूमा भन्दा यस पटक कांग्रेसले चियापान कार्यक्रमलाई व्यवस्थित बनाएको दाबी गरेको छ । आगन्तुकहरूलाई प्रधानमन्त्री समेत रहेका सभापति सुशील कोइराला, पदाधिकारी र अन्य सदस्यहरूले स्वागत गरे ।
बागमती तर्फ रहेको पश्चिम गेटबाट प्रवेश द्वार बनाएको कांग्रेसले पूर्व तर्फको गेटबाट निकासको व्यवस्था गरेको थियो ।
बिपी कोइरालाले चलचल्तीमा ल्याएको चियापान कार्यक्रमलाई कांग्रेसले बडादसैँ, तिहार, छठलगायतका पर्वको शुभकामना आदान प्रदानका रुपमा मनाउँदै आएको छ ।















प्रतिक्रिया