बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

आज कोजागत पूर्णिमा

दैनिक नेपाल २०७१ असोज २१ गते ५:१५

काठमाडौँ, २१ असोज । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेर मनाई समापन गरिँदैछ ।

आजको दिन राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी ऐश्वर्य दिलाई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । दसैं र नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।

आजको दिन ३१ घडी ५० पला चतुर्दशी र त्यसपछि पूर्णिमा तिथि लाग्ने भएकाले मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आज परेको नेपाल पञ्चाङ््ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

आज बेलुकी छ बजेर ४४ मिनेटदेखि बुधबार दिउँसो ४ बजेर ४२ मिनेटसम्म पूर्णिमा तिथि भएकाले पूर्णिमा व्रतमात्र गर्नेले असोज २२ गते बुधबार पूर्णिमा व्रत बस्नुपर्ने पनि समितिले जानकारी दिएको छ ।

आकाशदीप बुधबारदेखि

आकाशदीप दान र कात्तिक स्नान पनि असोज २२ गते बुधबारदेखि सुरु हुने भएको छ । पूर्णिमा व्रत, आकाशदीप दान र कात्तिक स्नान पूर्णिमा तिथिमा सूर्योदय भएका दिन गर्नुपर्ने शास्त्रीय विधान भएकाले असोज २२ गते यी पर्व मनाउनुपर्ने अध्यक्ष गौतमले बताउनुभयो ।

असोज २२ गतेदेखि बाँस, बाँस नपाएमा पलाँस, खयर, पिपल आदिको लिङ््गो ठड्याई आकाशदीप दान सुरु गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म घर घरमा विशेष रुपमा गरिने तुलसी पूजा पनि असोज २२ देखि नै सुरु हुने छ । असोज २२ गते २६ घडी ४५ पला अर्थात् दिवा ४ बजेर ४२ मिनेटसम्म पूर्णिमा तिथि छ । कोजाग्रत पूर्णिमाका अवसरमा स्वयम्भू चैत्यमा महादीप दानसमेत गर्ने गरिन्छ । रासस

प्रतिक्रिया
सम्बन्धित