आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

दशैं मानेर डोटीबाट कैलाली आउँदै गरेका यात्रु चढेको बस दुर्घटना, २३ जनाको मृत्यु, को-को परे ?

दैनिक नेपाल २०७१ असोज २० गते २०:२६

धनगढी, २० असोज । डोटीबाट धनगढी आइरहेको यात्रुबाहक बस डोटीको छतिवन गाविस– ५ कट्कटेमा दुर्घटना हुँदा २३ जनाको ज्यान गएको छ ।

डोटीको जोरायलबाट धनगढीका लागि छुटेको ना ४ ख ५७०७ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको हो । दुर्घटनामा २३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सरस्वती नगर गाविस वडा नम्बर १ का २५ वर्षीया कृष्णा मल्ल, सकुन्तला मल्ल, वडा नम्बर २ का ४० वर्षीय राजेन्द्र शाही, वडा नम्बर ४ का टेकराज भट्ट, वडा नम्बर ६ का भूमिराज भण्डारी र सोही ठाउँका हरिष कठायत, सोही गाविस वडा नम्बर ७ का डम्बरी जोशी, वडा नम्बर ८ का कृष्णराज भण्डारी र २४ वर्षीया पशुपति भट्ट रहेको प्रहरीले बताएको छ। यसैगरी, लक्ष्मीनगर गाविस वडा नम्बर ३ की २७ वर्षीया शान्ति मल्ल, वडा नम्बर ५ की इन्द्रा मल्ल र सोही ठाउँकी भागिरथी बडुवाल रहेका छन्। मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ ।

दुर्घटनामा ४१ जना भन्दा बढी घाइते छन् । प्रहरीले २२ जनालाई उद्धार गरी धनगढी ल्याएको छ । बसमा अधिकांश दशैं मनाएर फर्कदै गरेका यात्रु थिए ।

प्रहरीको टोली घटनास्थल पुगी उद्धार गरेको छ । प्रहरीका अनुसार, भीरमा शव अड्किएका कारण निकाल्न कठिनाई भैरहेको छ। इलाका प्रहरी कार्यालय बुडरका प्रहरी नायब निरीक्षक दानसिंह कार्कीले बस सडकबाट झण्डै अढाई सय मिटर तल खसेको जानकारी दिएका छन् ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित