काठमाडौँ, २० असोज । प्रमुख तीन दलको बैठक सोमबार पनि निष्कर्षविहीन बनेको छ ।
नयाँ संविधानका सहमति हुन बाँकी राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीलगायतका विषयमा टुङ्गो लगाउन बसेको बैठक निष्कर्षविहीन भएको हो ।
सिंहदरबारमा भएको बैठकमा दलहरूका आ–आफ्नै अडानका कारण ती विवादित विषयमा सहमति जुट्न नसकेको हो । बैठकमा नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी)का शीर्ष नेताहरूको सहभागिता रहेको थियो ।
बैठकमा नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल, नेता डा. बाबुराम भट्टराई, महासचिव कृष्णबहादुर महरा, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्षत्रय विद्यादेवी भण्डारी, वामदेव गौतम र भीम रावललगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।
यता, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहेको २२ दलको संयुक्त मोर्चाले संविधानमा आफ्ना एजेन्डाहरू स्थापित गर्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार पत्रकार सम्मेलन गरी एमाओवादी नेतृत्वको २२ दलहरूले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधानको लागि आन्दोलनको घोषणा गरेको हो ।
असोज २४ गतेदेखि ३१ गतेसम्म चल्ने आन्दोलनमा असोज २४ गते १ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन, असोज २७ गते इटहरीमा सभा र जुलुस, असोज २९ गते दाङमा सभा र जुलुस तथा असोज ३१ गते काठमाडौंको खुल्लामञ्चमा विशाल जनसभाको घोषणा गरेको छ ।
पत्रकार सम्मेलनमा एमाओवादी अध्यक्ष प्रचण्डले संविधानका मुलभुत विषयहरूमा सहमतिको प्रयास जारी रहेकाले सहमति नभई कांग्रेस र एमालेले भनेजस्तो प्रक्रियामा गए विरोधमा उत्रने बताउनुभयो । उहाँले सहमतिमै संविधान बनाउने कुरामा आफ्नो अडान रहेको बताउनुभयो ।















प्रतिक्रिया