कञ्चनपुर, २० असोज । नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडूले संविधान निर्माणमा काँग्र्रेस लचक हुने बताउनुभएको छ ।
सोमबार दार्चुला–कञ्चनपुर सम्पर्क मञ्चले महेन्द्रनगरमा गरेको भेटघाट कार्यक्रममा प्रवक्ता बडूले भन्नुभयो, “संविधान निर्माणमा काँग्र्रेसले सात प्रदेशको खाका अघि सारेको भए पनि दलहरुबीच सहमति भए काँग्र्रेस त्यसमा लचक हुनेछ ।”
एक अर्को प्रसङ्गमा प्रवक्ता बडूले जातीय पहिचानको सङ्घीयता नभई पहिचान र सामथ्र्यका आधारमा सङ्घीयतामा जाने काँग्रेसको ‘बटम लाइन’ भएको बताउनुभयो ।
एमाओवादीले जातीय पहिचानसहितको कुरा उठाएका कारण संविधान निर्माणमा दलहरुबीच सहमति हुन नसकेको उहाँको भनाइ थियो ।
एमाओवादीले १० प्रदेशको खाकासहित जातीय पहिचान हुनुपर्ने अडान नछोडेका कारण संविधान निर्माणमा अन्योलता आएको प्रवक्ता बडूको दाबी छ ।
सम्पर्क मञ्चका सचिव ईश्वर दत्त बडूले दार्चुलामा गत वर्ष बाढी आएपछि गरिएका नियन्त्रणका प्रयासबारे प्रवक्तालाई जानकारी दिनुभएको थियो ।
उहाँका अनुसार पक्की तटबन्ध निर्माणको कार्य सुचारु भइसकेको छ ।
















प्रतिक्रिया