हङ्कङ, १९ असोज । हङकङका प्रजातन्त्रवादी समूहले आफ्नो आन्दोलनको सङ्केतको रूपमा पहेँलो रिबनलाई उपयोग गरेका छन् र उनीहरूको विरोधमा नयाँ प्रतिपक्षीहरूले आफ्नो सङ्केतको रूपमा निलो रिबनलाई उपयोगमा ल्याएका छन् ।
आफ्नो छातीमा निलो रिबन लगाएर प्रतिरोधको भेला आयोजना गर्ने भनी यसका सदस्यहरूले फेसबुकको प्रयोग गरेका छन् । यो समूह हङकङको प्रहरीलाई सहयोग गर्न स्थापना गरिएको बताइएका छ । त्यसै पनि हङकङका प्रहरी अधिकारीहरू निलो रङको कमिज लगाउँछन् ।
शनिबार नगरप्रहरीले प्रदर्शनकारीलाई नियन्त्रण गर्न ठूलो मात्रामा अश्रुग्यास प्रयोग गरेको थियो । शुक्रबार व्यस्त बजारका जिल्लामा प्रजातन्त्र सर्मकहरूमाथि प्रतिरोधक समूहले गरेको हिंसात्मक आक्रमण रोक्न नसकेको भनी प्रहरीको आलोचना भएको थियो ।
प्रदर्शनकारी तथा सांसदहरूले यस आक्रमणमा आपराधिक समूह प्रयोग भएको आरोप लगाएका छन् भने प्रहरी तथा सरकारले आफूहरूले अपराधीको सहयोग नलिएको दाबी गरेका छन् ।
‘ब्लु रिबन’ लगाउने सदस्यहरूलाई एएफपीले प्रश्न गर्दा उनहरूले आफूहरूले प्रहरीलाई विश्वास गरेको र उनीहरूप्रति समर्थन जनाउन चाहेको बताए ।
‘ब्लु रिबन’ लगाउने समूहका एक आयोजकले केही प्रहरी अधिकारीहरूले उनीहरू २४ घण्टा नै खट्नु परेको र आराम लिन नपाएको बताएको र यस्तो अवस्था हङकङले थेग्न नसक्ने बताए । यस समूहले आफू प्रहरीलाई समर्थन गर्ने गठबन्धन भएको बताएका छन् ।
यी आयोजकले आफूहरूले जनमुक्ति सेना नगरमा प्रवेश गरी प्रहरीलाई सहयोग गरेको देख्न नचाहेको र आफूहरूले हङकङका प्रहरीलाई यहाँका नागरिकले सहयोग गर्ने अपेक्षा गरेको बताए ।
शुक्रबारको हिंसापछि प्रदर्शनकारीहरू निलो रिबन लगाउनेप्रति निकै आशङ्कित बनेका छन् । हिंसाकै कारण प्रजातन्त्रसमर्थक नेताहरूले सरकारसँग वार्ता गर्न अस्वीकार गरेका छन् । यसले समाजलाई अझै विभाजित बनाउने आशङ्का गर्न थालिएको छ । रासस / एएफपी














प्रतिक्रिया