१ कार्तिक २०८३, शनिबार

सहमतिमै संविधान नलेखिए मान्दैनौं: विपक्षी मोर्चा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UCPN_Maoist_Head_Office_Paris_Danda

काठमाडौँ, १९ असोज । सहमतिका आधार मै संविधान निर्माण प्रक्रियालाई अगाडि बढाउनुपर्नेमा एमाओवादीलगायतका विपक्षी दलको संयुक्त गठबन्धनले आग्रह गरेको छ ।

एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बसेको बैठकले विगतमा विभिन्न चरणमा भएका सहमति तथा सम्झौताका आधारमा पनि सहमतीय प्रक्रिया नै संविधान निर्माणको प्रमुख आधार भएकाले बहुमतीय प्रक्रियामा जान नहुनेमा जोड दिएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादीका सचिव वर्षमान पुनले सहमतिभन्दा अर्को कुनै पनि विकल्प अङ्गालिए त्यो आफूहरूलाई मान्य नहुने निष्कर्ष बैठकले निकालेको जानकारी दिनुभयो ।

“प्रमुख दलबीच भएको १२ बुँदे सम्झौता, अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौताको मर्म र भावना र सहमतिका आधारमा सबै वर्ग तथा पक्षलाई मान्य हुने गरी संविधान लेखन प्रक्रियालाई अगाडि बढाउन बैठकले सरकारमा रहेका दललाई आग्रह गरेको छ,” सचिव पुनले भन्नुभयो । सरकारमा रहेका दलहरूले सहमतिभन्दा पनि बहुमतका आधारमा संविधान निर्माण गर्न चाहेको देखिएको भन्दै बैठकले त्यसो गरिए आफूहरूलाई मान्य नहुने निष्कर्षसमेत निकालेको उहाँको भनाइ छ ।

बैठकले सोमबार तीनवटै गठबन्धनको तर्फबाट संविधान निर्माणका ठोस आधार सार्वजनिक गर्ने तयारीसमेत गरेको छ ।

बैठकमा एमाओवादी नेतृत्वको सङ्घीय गणतान्त्रिक गठबन्धन, साना दलहरूको पहिचानमा आधारित सङ्घीय गठबन्धन र

संविधानसभा बाहिर रहेका दलहरूको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनमा आबद्ध दलहरूको सहभागिता रहेको थियो ।

यसैबीच, दसैँको बिदालगत्तै प्रमुख तीन राजनीतिक दल संविधान निर्माणमा सहमति जुटाउने ध्येयका साथ छलफलमा जुटेका छन् । प्रमुख दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिदेखि सुरु भएको छ ।

बैठकमा संविधान निर्माणमा देखिएका प्रमुख विवादित विषयहरू शासकीय स्वरूप, राज्य पुनःसंरचना, न्याय प्रणाली, निर्वाचन प्रणाली र नागरिकताको विषयमा छलफल हुने बताइएको छ ।