समावेशी मोहनी नखः र समावेशी दशैंको सबैमा शुभकामना ! यतिखेर दशैं के, मोहनी नखः के ? भन्ने फेसबुकमा सार्वजनिक बहस गरमागरम भइरहेछ । केही साथीहरू थप्पक्क आफ्नो हिसाबले आफ्नै कोठामा जे मान्न पर्छ वा पर्दैन सीमित भएको राम्रो बहस गरेर हल्लीखल्ली गर्न ठिक होइन भन्नेहरू पनि छन । तर जोरस्वरले सम्बाद त भई राखेकै छ । प्रश्न उठिराखेको छ- यो कालो दशैं हो, जनजातिले मान्न हुन्न । त्यस्तै यही साइतमा मनाइने हिन्दू र बौद्ध नेवारहरूको चाड मोहनी चाड हिन्दू चाड होइन भन्ने पनि कुरा आइरहेको छ । यो के हो त ? भन्ने उत्सुकता विवेकशील जनमानसमा हुनु स्वाभाविकै छ र साझा मततिर जनमत जान पनि जरुरी छ । त्यसैले म संवादको पक्षमा छु ।
प्रस्तुत फोटो पत्र हेर्नुहोस । यसले के भनी रहेको छ । कसको पोस्टिंग हो थाहा भएन । तर यसमा केही कुराको सहमति हुँदाहुँदै पनि केहीमा मेरा बिमति छन् । यसको भाषामा सहिष्णुता छैन यो पनि मलाई खड्केको कुरा हो। मैले आफ्नो भनाइ दसैं परापूर्वकालदेखि धानबाली पाकेर सफलता पाई फुर्सद मिलेपछि नयाँ उत्पादित चामलको टिका लगाएर रमाइलो गरी मनाउने कृषी चाड हो भनी निम्न कुराहरू त्यसैमा भनें ।
१. यो भारतीय संस्कृतिको अतिक्रमण वा आयातित हो भन्ने सम्बन्धमा मैले आफ्नो कुरा यसरी राखेँ :
नेपाल र भारत बनेको ३०० वर्ष पनि भएको छैन । यो हज्जारौं वर्ष पुरानो चाडलाई ३ सय वर्षको भारतको मानेर भारतीय संस्कृति भन्न मिल्दैन । सिन्धु र गङ्गा नदीमा अवस्थित परापूर्व कालका हज्जारौं साना ठूला देशहरूका कृषकहरूको चाड हो यो । यसको निर्माणमा आजको नेपाली भूभागको पनि देन छ । यसमा कुनै संस्कृतिको अतिक्रमण छैन । सम्मिश्रण र विविधिकरण भने छ। सबै संस्कृति निष्कलंक हुन्छन र यी आफै प्रशारित हुन्छन वा नामेट पनि हुन्छन । जबर्जस्तीमा चल्दैन । नेपालमा हिन्दु राजाहरूले अन्य सांस्कृतिक समुदायमा यो जबर्जस्ती लादे र उनीहरूको लागि अहिले अवान्छित भयो । सद्भावको यो चाडलाई यसैकारणले अतिक्रमणको संज्ञा मिल्यो । अहिले प्रतिकार भैरहेछ । यसलाई सद्भावले जित्न पर्छ । नत्र दूरी बढ्ने छ ।
२. दशैँ हिन्दूहरूको मात्र होइन र हिन्दुहरू भित्रै दशैं मान्दैनन भन्ने सन्दर्भमा मेरो भनाइ यस्तो रह्योः
यो चाडलाइ परापूर्वकालदेखि अपनाउंदै आफ्ना कथाहरू मिसाउँदै निरन्तरित गरेकोले राम वा दुर्गालाई पूज्ने हिन्दु धार्मिक विधिको दशैं बढी प्रचलित भएको हो । तथापि सबै हिन्दूहरूले यो चाड मनाउँदैनन् । सद्भावको लागि एकअर्काले लोसार, साकेला, क्रिस्मास र इदमा साथ दिएको जस्तो भने गर्छन । भारतमा बौद्ध धर्माबलम्बीहरूले अशोकको धर्म बिजयको रूपमा त्यही साइतमा उहिले देखि अशोक विजय दसमी मनाउँछन् । त्यस्तै त्यही साइतमा जैन र २४ तिर्थंकर पूज्ने नवरात्री समेतको विजयादशमी मनाउँछन् ।
३. दुइछाक खान नपाउने दलितहरूको लागि दशैं के दशैं ? भन्ने सन्दर्भमा मेरो भनाइ यस्तो रह्यो:
हिन्दू दलितहरूले ऋणपान गरेर पनि श्रद्धापूर्वक दसैं मनाउँछन् ।
४. दशैं जनजातिहरूको होइन भन्ने सन्दर्भमा मेरो भनाइ यस्तो रह्यो :
नेपालका सबै जनजातिहरूले दसैं मनाउँदैनन् । राणाकाल अघि करबलमा नचाहेर पनि सबैलाई दसैं मान्न कर थियो । अब त्यो स्थिति रहेन । आफूखुशी गर्न सकिन्छ ।
५. दशैं नेवारहरूले मान्दैनन । नेवारहरूले मोहनी मान्दछन भन्ने सन्दर्भमा मेरो भनाइ यस्तो रह्योः
नेवारहरूले मोहनी नखः मनाउँछन्, जो निश्चित रूपमा आम हिन्दु रिति भन्दा फरक छ र त्यो निरन्तरित छ । तर दशैको नाममा चिनिदो छ ।
६. दशैं मासु खान पल्केका क्षेत्री बाहुनको लागी मात्र हो भन्ने सन्दर्भमा मेरो भनाइ यस्तो रह्योः
दसैं मान्नेहरू सबै धनि गरिबको लागि आफ्नै हिसाबले प्रिय छ । सबैलाई आफ्नो संस्कृति उत्तिकै प्रिय हुन्छ ।
अन्त्यमा भनेको छु, आफ्ना संस्कृतिको लागि सम्मान खोज्ने सबैले अरूका संस्कृतिलाई सम्मान पहिले दिएर देखाएमा राम्रो हुने निबेदन गर्दै यो दसैं र मोहनी नखःको हार्दिक शुभ कामना ।
यसअघिको मेरो लेखमा धेरै कमेन्टहरू आएको देखियो । अरू बढ्दै छन । धेरैजसो कमेन्टहरू मूल लेख नपढी अरूको कमेन्ट हेरी अन्धाधुन्धमा लेखिएको पाएँ भने कोहिले त मैले कमेन्ट गरेको फोटोपत्रलाई नै मेरै भनाइ मानी गाली गर्नुभएको पनि पाएँ । पछि केहीले बीचमा आफ्ना कमेन्टहरू मेटाउनु पनि भाको छ ।
एउटा कमेन्ट मेरो पथप्रदर्शक विद्वान साहित्यकार दाजु परशु प्रधानले यस विषयमा गम्भीर हुन सल्लाह दिनुभएको छ भने मित्र कृष्ण नारायण श्रेष्ठले यस्ता कुरालाई बहसमा ल्याउन ठिक हुन्न, लेख्नु भएको छ, ;नेपाललाई यो हालतमा पुरयाउन विद्धान तर भ्रष्ट दिमाग भएकाहरुको ठूलो हात रहेको कुरा मान्न कर लाग्न थाल्यो । एकजना मानसिक असन्तुलनवाट ग्रस्त मानिसले तयार पारेको जस्तो दशैको बारेमा बनाएको फोटोपत्रलाई यसरी प्रश्रय दिनको अर्थ के हो ? कि यसमा कतिको समर्थनयुक्त कमेण्ट आउँछ भनेर हो कि ?’
मेरै ४० औं वर्ष पुराना मित्र बिनोद दीक्षितले पनि यो अशान्ति मच्चाउने कुरा भन्नुभएको छ । अर्थात यो बहसको औचित्य छैन भन्ने मनसाय पोख्नुभयो । अतः मैले सोचे यसको औचित्य के ? खुलाउनै पर्छ र मैले यसरी त्यही थ्रेड्मा लेखें ।
यस्तो कुरामा बहस हुन जरुरी छ । धेरै भ्रमहरू फैलिएका छन् । जनता भ्रमित हुनबाट जोगिन र जोगाउन तथ्यपरक कुरा अघि सारेर सबैलाई आफ्नो निष्कर्षमा पुग्न दिनुपर्छ । पहिले यसरी यो चाडलाई अति पवित्र र निर्विकल्प भनी सत्ताले अन्य संस्कृतिका जनतालाई थोपरिएको अवस्था थियो र प्रश्न राख्न अनुचित र विग्रहकारी मानिन्थ्यो । अब युग फेरिएको छ । आफ्ना मनका कुरा राख्न बन्देज छैन ।
यसै सन्दर्भमा भन्दै आएको छु, दशैको इतिहास २४० वर्षे शाहकालमा मात्र सीमित थिएन । त्यो भन्दा ३/४ हजार वर्ष अघिदेखि निरन्तरित हुँदै आएको हो । मेरो भनाइ हो पहिले यो कृषि चाड थियो र पछि हिमालय दक्षिणका विभिन्न जनसमुदायले यसलाई विभिन्न कालखण्डमा आफ्नो ढंगमा विकसित गर्दै आए । २३०० वर्ष अघि अशोकले यही साइतमा अस्त्र त्याग गरे र त्यस बेलादेखि आजसम्म अशोक विजयादशमी भारतमा मनाँइदै आएको छ । जैनहरूले पनि आफ्नै तरिकाले परापूर्व कालदेखि जीन र तिर्थंकरलाई पूज्दै नवरात्री मनाउँदै आएका छन् । नेपालमै यसै साइतमा आफ्नै ढंगले राम वा दुर्गा पूजा नगरी मोहनी नखः मनाइँदै आएको छ । हिन्दुहरूमै कोही यस दिन रामको विजय मान्दछन् त कोही दुर्गाको विजय मान्दछन् । नेपालमा शाहराजाले अन्य आदिबासीहरूमाथिको विजय उत्सव दशैं हो भनेर उसैले लेखाएको इतिहासमा देखिएको छैन तर उसको यो चाड इतरसंस्कृतिका जनजातिहरूमा थोपरेको भने प्रमाणहरू छन् । नमान्नेलाई झुण्ड्याएको समेत प्रमाणहरू छन् । धर्म वा चाडको यसमा गल्ती छैन । यसलाई गलत ढंगमा उपयोग गर्ने निरंकूश आततायी सत्ताधारीहरूको नियत गलत थियो । आफ्नो संस्कृतिलाई सम्मान होस् भन्ने सोच्नेले अरूको संस्कृतिलाई पनि उस्तै सम्मान दिन सक्नुपर्ने हो । यहाँनै शाहराजाले महागल्ति गर्यो । विजयादशमी मनाउने क्रममा इतरसंस्कृतिका मुखियाहरूलाई दरबारमा ल्याएर सम्मान गर्ने र अरूका चाड पर्वमा पनि सामेल हुने परम्परा कायम गरेको भए र उनका चाडलाई नमान्नेहरूलाई नझुण्ड्याएको भए आज जनजातिहरूले यसलाई कालो दशैं भन्न पर्ने कुनै कारण थिएन । दशैं कालो थिएन तर राजाको नियत कालो थियो । अब हेर्नोस, दमनकारी अतिबादी राजा त उखेलियो उखेलियो सबैको साझा चाड दशैं पनि ती उत्पीडित समूदायको लागि कालो भयो । अन्यथा सोच्न हुन्न । तर समय लाग्छ त्यो रगतलाई धुन । र यस्तो बहसको जरुरी त्यसैले छ । कुरा सुन्न सक्नुपर्छ र सुनाउन सक्नुपर्छ । बुझ्न सक्नुपर्छ र बुझाउन सक्नुपर्छ । उभिण्डो ठडिएको दिमागले उभिण्डोलाई मात्र सही देख्छ र सही उभिएकोलाई गलत देख्ने संस्कार लिएको हुन्छ । त्यसलाई सही देखाउन समय लाग्छ । निराश भैहाल्न हुन्न । अहिले जनताले आततायी राजसंस्था माथि विजय गरेको छ । यसै विजयको उत्सवको रूपमा दशैं चाड मनाउन पनि सकिन्छ । आखिर यो पनि त जनताले धेरै संघर्ष गरेर पाएको विजयानै हो । यस विजयलाई कालो नभनौं ।
यो पनि पढनुहोस्
दशैं हिन्दुका पुर्खाले ल्याएको चाड होइन
















प्रतिक्रिया