काठमाडौँ, १७ असोज । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी र दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका थापी मनाइँदैछ ।
यस वर्ष आज सूर्योदयकालमा महानवमी र त्यसपछिको समयमा विजयादशमी भएकाले महानवमी र विजयादशमी पर्व एकैदिन परेको हो । असोज १८ गते शनिबार सूर्योदयकालमा एकादशी तिथि लागिसक्ने भएकाले यस वर्ष महानवमी र विजयादशमी पर्व एकै दिन परेको पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।
आज एक घडी आठ पला अर्थात् बिहान ६ः२५ मिनेटसम्म महानवमी र त्यसपछि विजयादशमी तिथि लाग्ने भएकाले महानवमी र विजयादशमी पर्व एकैदिन मनाउनुपर्ने पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आज पहिले महानवमीको दिन गर्नुुपर्ने दुर्गा पूजालगायतका कार्य सकी विजयादशमीको दिन गर्नुपर्ने दुर्गा पूजा आदि कार्य सकेपछिमात्र देवी विसर्जन गर्नुपर्ने पनि अध्यक्ष गौतमले बताउनुभयो ।
यस वर्ष असोज शुक्ल दशमी तिथि क्षय भई सूर्योदयकाल दशमी तिथिले नभटेकाले यस्तो योग परेको हो । यस्तो योग बेलाबेलामा पर्ने भएकाले यो योगबाट कुनै फरक नपर्ने पनि समितिले जनाएको छ । केही व्यक्ति र सञ्चारमाध्यमले समेत यस किसिमको योगलाई अनिष्टका रुपमा प्रचार गरेकाले यस्तो हल्लाका पछाडि नलाग्न पनि समितिले सबैसँग आग्रह गरेको छ ।
यस किसिमको योग बेलाबेलामा पर्ने भएकाले यो ज्योतिषशास्त्रअनुसार सामान्य योग भएको पनि समितिले स्पष्ट पारेको छ ।
आज महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवी स्तोत्र पाठ गरिन्छ ।
पशुबलि नदिनेले भने महानवमीका दिनमा कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिइने पनि गरिन्छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका छावनी र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ । हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ ।
विजयादशमी
आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व पनि आज १०:१५ मिनेटको शुभ साइतमा मान्यजनबाट दुर्गा भवानीको प्रसादका रुपमा टीका र समृद्धिको प्रतीकको रुपमा पहेँलो जमरा लगाई मनाइँदैछ ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उहाँले जानकारी दिनुभयो ।
आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाउने गरिन्छ । जमराले विभिन्न रोग ब्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।
घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादसैँकै सबैभन्दा महत्वपूर्ण दिनसमेत हो ।
त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीकको रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वाससमेत रहिआएको छ ।
दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।
आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बुबा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।
आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड देख्न सकिन्छ । रासस
















प्रतिक्रिया