काठमाडौं, १६ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो राजनीतिक अवस्थाबारे असन्तुष्टि व्यक्त गरेका छन् ।
राजनीतिको अन्योलग्रस्त स्थितिबाट देश आक्रान्त भएको भन्दै पूर्वराजाले घुमाउरो पाराले असन्तुष्टि पोखेका हुन् । दशैंका अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजाले सामाजिक सद्भाव र राजनीतिक समन्वयका साथ अघि बढ्न आग्रह समेत गरेका छन् ।
‘परिवर्तित समयलाई ख्याल राखेर कसैलाई पनि किनारा नलगाई सामाजिक सद्भाव र राजनीतिक समन्वयको माध्यमबाट हामीले हाम्रो समुचित गन्तव्य खोज्नु पर्छ ।’ पूर्व राजाले भनेका छन् ।
‘प्रकृति र राजनीतिको नियती वा नीति भनौं यो वर्ष व्यतित वर्षायाम पनि हाम्रो निम्ति अनूकूल रहेन,’ उनले भनेका छन्, ‘बाढी, पहिरोको पीडादायी क्षति र राजनीतिको अन्योलग्रस्त स्थितिबाट हामी अझै आक्रान्त छौ ।’
‘प्रकृति, प्रवृति, राजनीति र परिस्थितिलाई सधार्दै राष्ट्रका सवै भेग, सवै पक्ष, सवै समूह, सवै समुदाय र सवै क्षेत्रलाई समेटेर सुझबुझका साथ अघि बढ्नु पर्ने आजको आवश्यकता हो,’ उनले भनेका छन् ।
पूर्वराजाको सन्देश जस्ताको तस्तै:
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट विजया दशमी २०७१ को शुभ उपलक्ष्यमा बक्सेको शुभकामना
प्यारा नेपाली दिदी वहिनी तथा दाजुभाइ,
वडा दशैंको यो महान् धार्मिक, सांस्कृतिक एवं सामाजिक पर्वका उपलक्ष्यमा म देश भित्र र देश बाहिर रहे बसेका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
प्रकृति र राजनीतिको नीति वा नियति भनौं यो वर्ष व्यतित वर्षायाम पनि हाम्रो निम्ति अनुकूल रहेन । वाढी, पहिरोको पीडादायी क्षति र राजनीतिको अन्योलग्रस्त स्थितिबाट हामी अझै आक्रान्त छौं । प्रकृति, प्रवृत्ति, राजनीति र परिस्थितिलाई सुधार्दै राष्ट्रका सवै भेग, सवै पक्ष, सवै समूह, सवै समुदाय र सवै क्षेत्रलाई समेटेर सुझबुझका साथ अघि बढ्नु पर्ने आजको आवश्यकता हो । परिवर्तित समयलाई ख्याल राखेर कसैलाई पनि किनारा नलगाई सामाजिक सद्भाव र राजनीतिक समन्वयको माध्यमबाट हामीले हाम्रो समुचित गन्तव्य खोज्नु पर्छ ।
नेपाल राष्ट्रको दिगो र दर्बिलो विधि व्यवस्था वाँध्न, स्थिति बन्दोवस्त बसाल्न र समाज समृद्धिको मार्ग प्रशस्त गर्न श्री नवदुर्गा भवानीले हामी सवैलाई सही वुद्धि, सही शक्ति र सही प्रेरणा प्रदान गरून् ! यही मेरो कामना छ ।
जय नेपाल ।
















प्रतिक्रिया