४ कार्तिक २०८३, बुधबार

आज महाअष्टमी पर्व, देशभरका भगवतीका मन्दिरमा दर्शनार्थीको घुइँचो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baglung-kalika-temple

काठमाडौँ, १६ असोज । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व बिहीबार नेपालीहरुले बडादसैंका रुपमा दुर्गा भवानीको पूजाआजा गरी भब्यताका साथ मनाउँदैछन् ।

बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको बिशेष पूजा आजा गरी मनाइदैछ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका बिभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको बिशेष पूजा आजा गरिन्छ । दुर्गा सप्तशती र देवी स्तोत्र पाठ पनि गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाड्. निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ । सात्विक जल, चन्दन, र अक्षता लगायत षोडशोपचारले गरिने पूजा हो । सात्विक र पशुबली सहितको पूजालाई राजस पूजा भनिन्छ । राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबली पनि शास्त्रीय भएको गौतमले बताउनुभयो ।

ब्राह्मणका लागि भने पशुबली बर्जित गरिएको पनि उहाँले बताउनुभयो । आसुरी प्रबृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलीको महत्व रहेको पनि उहाँले बताउनुभयो । दुर्गा शप्तशती चण्डीको आठौं अध्यायमा पनि यस सम्बन्धी चर्चा भएकाले पशुबलीलाई अशास्त्रीय भन्न नमिल्ने डा गौतम बताउनुहुन्छ । राज्य संचालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबली विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन रहेको छ । यी तीनवटा शक्ति दुर्गा भवानीबाटमात्र प्राप्त गर्न सकिन्छ । यसैकारण आजको दिन विधिपूर्वक पशुबली दिइने गरिएको हो ।

आजैका दिन राती कालरात्रीका रुपमा पशुबलीको विधि र पूजा आजा सहित मनाउने गरिन्छ । कालरात्रीको पूजा विधि र संकल्प समेत छुट्टै हुने भएकाले यसको बिशेष महत्व रहेको छ । ब्राह्मणले भने कालरात्री पूजा पनि गर्न नपर्ने विधान रहेको छ ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सड्कटा, वज्रबाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई लगायत मन्दिरहरुमा पनि बलीसहित पूजा आजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्दछ ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलदुराको उग्रतारा, काभ्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलीसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनहरुको घुँइचो लाग्ने गर्दछ ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाई गरी पशुबलीसहित पूजा आजा गर्ने गरिन्छ ।

पशुबली नचढाउनेहरुले भने आज पूजा कोठामा काँक्रो, घिरौंला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजा आजा गर्ने गर्दछन् । आज राति हनुमानढोकाको दसैंघरमा बोका र राँगाको बलीसहित कालरात्री पूजा गर्ने गरिन्छ । रासस