वासिङ्टन, १५ असोज । अमेरिकी सङ्घीय अदालतमा त्यहाँका नागरिक भन्दा विदेशी बढी दोषी ठहरिने र उनीहरूले कडा दण्ड सजाय पाउने सम्भावना बढी भएको बुधबार प्रकाशित एक अध्ययन प्रतिवेदनमा जनाइएको छ ।
‘अमेरिकन सोसियोलोजिकल रिभ्यु’ मा प्रकाशित एक अध्ययन प्रतिवेदनमा सन् २००८ मा दोषी प्रमाणित भएका गैरअमेरिकी नागरिकमध्ये ९६ प्रतिशतले काराबासको सजाय प्राप्त गरेको र यसको तुलनामा अदालतमा दोषी प्रमाणित भएका ८५ प्रतिशत अमेरिकी नागरिकले यस्तो सजाय पाएको उल्लेख गरिएको छ ।
अमेरिकी सङ्घीय अदालतमा दोषी प्रमाणित भएका गैरअमेरिकी नागरिकको सङ्ख्या गत दुई दशकमा पाँच दोब्बर वृद्धि भएको देखिएको पर्दु विश्वविद्यालयका समाजशास्त्रका सहायक प्राध्यापक माइकल लाइटले बताउनुभयो । उहाँले यस अध्ययनको नेतृत्व गर्नुभएको थियो ।
अनुसन्धानकर्ताहरूले सन् १९९२ देखि २००८ सम्मको अमेरिकी सङ्घीय जिल्ला अदालतका तथ्याङ्क विश्लेषण गरेका थिए ।
एक विज्ञप्तिमा लाइटले गैरअमेरिकी नागरिकले त्यहाँका नागरिकको तुलनामा दुईदेखि चार महिना बढी काराबासको सजाय पाउने गरेको देखिएको उल्लेख गर्नुभएको छ ।
अनुसन्धानकर्ताहरूले आपराधिक इतिहास तथा गम्भीरता जस्ता विषयमा विश्लेषण गरेका थिए ।
अमेरिकामा दुई करोड २० लाख गैरअमेरिकी नागरिक बसोबास गरिरहेको अवस्थामा यो चिन्ताको विषय भएको लाइटले बताउनुभयो ।
उहाँले समान अधिकार भए पनि गैरअमेरिकी नागरिकले सङ्घीय अदालतमा समान व्यवहार प्राप्त नगरेको अध्ययनमा देखिएको बताउनुभयो ।
अध्ययनमा कागजात नभएका आप्रवासीहरूले पाउने दण्ड अझै कडा हुने गरेको देखिएको छ । रासस / एएफपी














प्रतिक्रिया