धनगढी, १२ असोज । सामान्यतयाः मानिसले दायाँ हातले लेख्ने गर्छन् । कसैले बायाँ हातले पनि लेखेको देखिन्छ । तर सुदूरपश्चिमका एक युवकले आफ्नो मुख, दुईवटै हातखुट्टा र कुहिनामा एकसाथ छवटा कलम च्यापेर खरर उल्टो र सुल्टो अक्षर तथा अङ्क लेखेर कला प्रदर्शन गर्न सक्नुलाई भने अनौठो कला मान्नुपर्छ ।
बैतडी जिल्ला चौखाम–३ का युवक मनोज चन्दमा यस्तो अनौठो कला रहेको छ । उहाँले यहाँ आयोजित एक कार्यक्रममा आफ्नो लेखन कला प्रदर्शन गर्नुभयो । २६ वर्षीय चन्द मुख, दुइटै खुट्टा, हात र कुहिनामा कलम च्यापेर र हातमा एक साथ छवटा कलम समात्दै सुल्टो र उल्टो अक्षर लेखेर कला प्रदर्शन गरिरहँदा उपस्थित सबै अचम्भित भएका थिए ।
बैतडीको चौखाम–३ घर भएका चन्दले धनगढीको नास्टमा कक्षा ९ मा अध्ययन गर्दा २०५९ सालदेखि लेखन कला सुरु गर्नुभएको थियो । अहिलेसम्म नेपालका ४२ जिल्लाको भ्रमण गरेर आफूले लेखन कला प्रदर्शन गरिसकेको चन्दले बताउनुभयो ।
विश्वमा कसैले देखाउन नसकेको लेखन कला प्रदर्शन गरिरहनुभएका चन्द ‘गिनिज बुक’मा नाम लेखाउने तयारीमा हुनुहुन्छ ।
कार्यक्रममा उहाँले तिहारपछि विश्वका झन्डै ४० देशको भ्रमण गरी कला प्रदर्शन गर्ने बताउँदै विश्व भ्रमणका लागि खर्चको व्यस्थापन विदेशमा रहेका नेपाली र नेपाल सरकारले व्यहोर्ने विश्वास व्यक्त गर्नुभयो । चन्दले आफूले देखाएको कला विश्वमै पहिलो र नयाँ रेकर्ड भएकाले गिनिज बुकका प्रतिनिधिले अन्तिम निर्णय लिने कार्यक्रममा उपस्थित पत्रकारहरूलाई बताउनुभयो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक र नास्ट कलेजका प्रमुख शिवहरि मुडभरीले यस्तो विलक्षण प्रतिभा कहिल्यै नदेखिएको बताउँदै आफ्नो कलामार्फत नेपाल र नेपालीको शिर संसारभरि उँचो पार्न सल्लाह दिनुभयो ।
“आफ्नो कलाबाट अशक्त र अपाङ्गको मनोबल बढाउन मद्दत गर्ने छ”–चन्दले भन्नुभयो–“आफ्नै पहलमा स्थापना भएको मनोज फाउन्डेसनले समाजमा लुकेर रहेका प्रतिभा र क्षमता प्रष्फुटन गराउन सहयोग गर्नेछ ।” रासस















प्रतिक्रिया