२९ आश्विन २०८३, बिहिबार

अमेरिकामा नेपालीले नै नेपालीलाई दुःख दिएपछि….

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Binod-kumar-Nepal-final

न्युयोर्क, १० असोज । परदेशमा एउटा नेपालीलाई दुःख पर्दा अर्को नेपाली सहयोग गर्न तम्सिन्छ । अझ नेपाली समुदाय संगठित भएर विभिन्न संघसंस्था खोलेका छन्, जसले परदेशमा रहेका नेपालीलाई नै सुख दुःखमा सघाउने गरेको छ । तर, सुन्दै आश्चर्य लाग्ने घटना अमेरिकाको नेपालीबीच घटेको छ । त्यो हो, नेपालीविरुद्ध नेपालीहरुबाटै अदालतमा मुद्दामामिला । अमेरिकामा डलर कमाउन आएका एक नेपालीलाई अमेरिकाको म्यारिल्याण्ड तथा डिसी अदालतमा चारपटक मानहानी मुद्दा दायर भएको खबरले यतिबेला अमेरिकाभर रहेको नेपालीबीच सनसनी मच्याएको छ ।

यी पात्र हुन्, करिब एक दशक अगाडि अमेरिका छिरेका काठमाडौँ बौद्ध रामेहिटीका बिनोदकुमार नेपाल । उनीविरुद्ध जुलाई २०१३ र मार्च २०१४ मा म्यारिल्याण्ड राज्यको सर्किट कोर्ट अफ मन्टगोमेरी काउन्टी तथा वाशिंगटन डिसीस्थित सुपेरिएर कोर्ट अफ डिस्ट्रिक अफ कोलम्बियामा मुद्दा परेको हो । उनीविरुद्ध मानहानी, चरित्र हत्या, धोखाधडी, असत्य लेखेको कारण नेपाली समुदायले नै मुद्दा दायर गरेको हो । साठीको दशक देखि नै अमेरिकामा नेपालीहरुको आगमन भएयता यस्तो प्रकारको नेपालीलाई लागेको मुद्दा पहिलो हो ।

अमेरिकाको सशक्त संस्था एएनएका कार्यकारी समिति अबैधानिक तथा संस्थाले बर्षेनी गर्ने महाधिवेसन गैरकानुनी भनि सन् २०११ देखि अमेरिकाभरिका नेपाली समुदायलाई भ्रम फैलाउदै आएका बिनोदलाई अदालतले अनिवार्य हाजिर हुन् आदेश दिएपछि अदालतमा उपस्थित भएका छन् । अमेरिका जस्तो मुलुकमा संस्थाका तमाम वर्तमान नेतृत्वलाई स्वघोषित संस्था कब्जा गरेको भनि पटकपटक नेपाली समुदायलाई सूचना दिएका कारण एएनएले उनी माथि मानहानीको मुद्दा दायर भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले समेत दुई वटा सम्मेलनमा लगातार शुभकामना सन्देश पठाइ एएनए सम्मेलन सफलताको कामना गरेका थिए । ओबामाका विशेष प्रतिनिधि र उनका पार्टीका प्रतिनिधिहरु समेत सम्मेलनमा सहभागी भइ शुभकामना दिएका थिए । यतिमात्र होइन्, नेपालका लागि अमेरिकन राजदुत पिटर बोडे एकबर्षअघि एएनए सम्मेलनको प्रमुख अतिथि बनेका थिए । तर, यति हुँदाहुँदै पनि अमेरिकावासी नेपालीहरुको प्रिय संस्थालाई अबैधानिक भनी सामाजिक सन्जालमा भ्रम फैलाएपछि बिनोदकुमारमाथि एएनएले अदालत गुहारेको हो ।

कहिल्यै पनि नेपाली समुदायको कुनै पनि कार्यक्रममा उपस्थित नभई भूमिगत रुपमा सामाजिक सन्जालबाट अत्यन्तै नकारात्मक ,निम्नस्तरीय शब्द प्रयोग उनले असत्य भ्रामक, आधारहीन कुराहरु पटकपटक लेखेको अभियोग छ । उनी माथि दुई वटा अदालतमा ठूलो राशिको क्षतिपूर्तिको मागसहित मुद्दा दायर भएको हो ।

एक नेपाली भएर नेपाली समुदायकै बारेमा कुप्रचार गरे पनि मुद्दा मामिलाबाट जोगिन उनी अमेरिकाको भर्जिनिया, टेनेसी, बोस्टन तथा न्यु ह्याम्प्सर राज्यहरुमा बसोबास फेर्दै आएका थिए । विदेशमा नेपालीहरु एकजुट भएर बस्नुपर्नेमा नेपाली समुदायबीच झगडा गराउन महत्वपूर्ण भूमिका खेलेकाले उनी लामो समयदेखि नेपाली समुदायका लागि टाउको दुःखाइको विषय बनेका थिए । आफूले कहिल्यै समुदायका लागि काम नगर्ने बिनोदकुमार चरित्र हत्या गर्ने गरी परदेशी भूमिमा नेपालीको बेइज्जत गर्दै आएका थिए ।

केही अपवाद बाहेक अमेरिका पुग्नु धेरै नेपालीको रहर नभई बाध्यता हो । परदेशी भूमिमा रहेका नेपालीहरु आफ्नो समय अनुकुल नेपाली समुदायको हितका लागि समर्पित छन् । एक नेपाली भएर अर्को नेपालीलाई सहयोग, सम्मान र भाइचारा कायम गर्नुपर्नेमा उनीबाट अमेरिकामा नेपाली समुदायका अगुवा, समाजसेवी, बिद्यार्थी, संस्था, पत्रकार, बुद्धिजीवी, वकिल, साहित्यकार, प्राध्यापक, कुटनैतिक व्यक्तित्व, उद्यमी, ब्यबसायीदेखि स्थानीय संसदका उम्मेदवार समेत उनको कुप्रचारको शिकार भएका थिए ।

नेपाली समुदायलाई झुक्याएर पनि बच्दै आएका बिनोदकुमारले अमेरिकाको अदालतलाई समेत झुक्याउन सफल भएको रहस्य खुलेको छ । स्थानीय अदालतले पठाएको पत्र समेत नबुझी बिभिन्न बहाना गर्दै अदालतलाई समेत अटेर गरी उनले अदालतलाई झुक्याएको पाइएको हो । अदालतले उनको ठेगानामा यसअघि पठाएको पत्र उनलाई फेला पार्न नसकेका कारण खारेज हुँदै आएको थियो । पटकपटक डेरा र अमेरिकाको विभिन्न राज्यमा बसोबास सर्दै आएका उनविरुद्धको मुद्दा नेपाली समुदायकै अग्रसरतामा व्युताइएको बताइएको छ । यसअघि अदालतले उनी उपस्थित नभएको कारण देखाउँदै उनीविरुद्धको मुद्दा खारेजी गरि दिन्थ्यो । तर, बिनोदकुमारले भने आफूले मुद्धा जितेको भनी सामाजिक सन्जालमार्फत सूचना दिने गरेको प्रमाणका रुपमा अदालतमा बुझाइएको छ ।

सामाजिक सन्जालमार्फत उनले लेखेको सार्बजनिक सूचना नै प्रमाणसहित दुवै अदालतमा बुझाइएपछि नै उनी अदालतको फन्दामा परेका हुन् । अदालतलाई झुक्याएर उपस्थित नहुने तर आफूले मुद्दा जितेको भन्दै उनले सामाजिक सञ्जालमा प्रचार गरेपछि त्यसलाई प्रमाणका रुपमा अदालतमा पेश गरिएको थियो । जसले उनी अमेरिकामा नै भएको ठहर गर्दै अदालतले गम्भीरतापुर्वक अनुसन्धान गरी अदालत आउन बाध्य पारेको हो । केहि महिनादेखि अधिवक्ता समेत राखेर व्यापक खोजतलास गरिएपछि बिनोदकुमार न्यायालयको कठघरामा हाजिर हुन बाध्य भएका हुन् ।

यता, म्यारिल्याण्ड राज्यको सर्किट कोर्ट अफ मन्टगोमेरी काउन्टी (म्यारिल्याण्ड) को अदालतमा समेत एएनएका पूर्व अध्यक्षले बिनोदमाथि मुद्दा दायर गरेको बुझिएको छ । एएनएका पुर्वअध्यक्ष अमेरिकामा अध्ययन गरेका हुनाले उनी जागिरको सिलसिलामा चीन भ्रमणमा गएको समय वकिलले छाडेपछि अदालतमा प्रतिनिधिसम्म उपस्थिति नहुँदा बिनोदविरुद्धको मुद्दा खारेजी परेको थियो । अब उनले समेत अर्को वकिलको व्यवस्था गरी पुनः मुद्दा दायर गर्ने तयारी गरेको बुझिएको छ ।

मुलुक बाहिर यस्तो घटना घटेकोले नेपाली समुदायको इतिहासको कालो अक्षरमा अंकित भएको छ । अमेरिकामा नेपाली समुदाय, संस्था र व्यक्तिगत चरित्र हत्या गरेका कारण बिनोदकुमारमाथि श्रृखंलाबद्ध रुपमा मानहानीको मुद्दा हाल्ने तयारी नेपाली समुदायले गरिरहेको छ ।

Binod-kumar-Nepal3 Binod-kumar-Nepal4Binod-kumar-Nepal5