टिप्पणी: डा. कविताराम श्रेष्ठ
संघीय समाजबादी दलका महासचिव राजेन्द्र श्रेष्ठसँग वकिङ्ग, बेलायतमा हिजो भेट भो । मोहनी चाडको उपलक्ष्यमा दुवैबीच शुभकामना यारब्यार भयो । सफा कुरो यो मोहनी चाड भनेको नेवारी चाड रहेछ । तर मेरो लागि आफू नेवार नै भए पनि नयाँ भयो ।
सुन्दै जाँदा थाहा भयो यो मोहनी चाड भनेको हामी बाहिरका नेवारहरूले पनि मनाउंदै आएको दशैंको भोज विधिहरूसंग ठ्याक्क मिल्दो रहेछ । अर्थात हामीले त्यो चाड त दशैंकै नाममा निरन्तरित गर्दै रहेछौं तर नाम भने नजानेका रहेछौं । यो कसरी भयो तल कुरा गरिन्छ ।
नेवारहरू क्षेत्री बाहुनको जस्तो दशैंमा भात खाँदैनन् र अष्टमीको दिनदेखि नै घरमा जुठो हुन्छ भनी भात पकाउँदैनन् । अनि नेवारहरू सप्तमीको फूलपाती मनाउँदैनन् ।
अष्टमीको दिन कूछी भ्वय मनाउँछन् । हामी बाहिरका नेवारहरूले भने यो नाम थाहा नभएर अष्टमीको भोज भन्छौं । यस दिन बेलुका टन्न २ माना चिउरा समेतको भोज सम्पूर्ण परिवार उमेर क्रमको हिसाबमा लाइनमा बसी भोज खाने चलन छ । सबै कुरो पहिले नै भागमा राखिन्छ । भोज सिद्धिएपछि सबैले एकसाथ उठ्ने चलन छ । बीचमा कोही उठ्न पाइन्न्न । यस भोजमा ६ महिनाको बच्चासमेतको यथास्थानमा भाग लाग्छ । कतैकतै दुइ माना चिउराको ठाउँमा एक मानाको भोज राख्ने चलन पनि छ । नेवारहरूको लागि यो दिन सबभन्दा महत्वपूर्ण हुने गर्छ । परदेश गएका परिवारका हरेक सदस्य यस दिन जसरी पनि घर आइपुग्न चाहन्छ । कोही सदस्य भोजमा आइपुगेन भने घरमा रुवाबासी नै हुन्छ । अनि आर्इ नपुगेकाहरू समेतको लागि पनि उसको उमेर अनुसारको स्थानमा भाग राख्ने चलन छ । कतैकतै मृत सदस्यको भाग पनि लाउने चलन छ ।
नवमीको दिन स्याक्वः त्याक्वः मनाउँछन् । हामी बाहिरकाहरूले भने यो नाम थाहा नभएर नवमीको भोज भन्छौं । यस दिन बिहान देवीलाई राँगो, बोका, भेंडा, हाँस, कुखुरा आदिको बलि दिइन्छ । पशुबलि नदिनेले नरिवल फुटाएर वा कुभिन्डो काटेर बली दिइन्छ । बेलुका भोज खाने चलन छ ।
दसमीको दिन चालँ मनाउँछन् । हामी बाहिरकाहरूले भने यो नाम थाहा नभएर दसमीको भोज भन्छौं । यस दिन विहान कालो टिका लगाउने र बेलुका भोज खाने चलन छ । राजेन्द्रजीले कालो टिका लगाइन्छ त भन्नु भो तर मलाई कालो टिका लगाएको सम्झना छैन । बाहिरका नेवारहरूले रातो टिका निधारमा लगाएर टिका उत्सव गर्दछन ।
बाहिरका नेवारहरूले स्थानविशेष केही भिन्नताका साथ यी रिति गरी मोहनी अष्टमीदेखि दशमीसम्म मनाउँछन् तर सबै दशैंको नाममा गर्छन । बाहिरका नेवारहरूलाई दशैंको नाममा आफ्नो चाड हराइसकेछ थाहा नै भएन ।

माथि उल्लेखित नेवारी भोजको नामहरू मलाई थाहा थिएन । राजेन्द्रजीले बताइदिनुभो । राजेन्द्रजीले भन्नुभो, नेवारहरूले मोहनीको अन्तिम दिन अर्थात् दशमीको दिन जुन कालो टिका लगाउँछौं, त्यो हारको दिन भनेर लगाएका हुन् । अब यस्तो भन्न लाग्दा विग्रहका कुरो भनि गाली आउने म देख्छु । तर आफ्नो कुरा त भन्न पाउनै पर्छ ।
हिन्दु नेवारहरूले परापूर्वकालदेखि कृषि चाडको रूपमा मोहनी चाड मनाउँदै आएका थिए । त्यो हिन्दुशास्त्र अनुसार देवीको पूजासम्मत पनि थियो नै । तर कुरा हो नेवारी मोहनी चाडलाईलाई शाहराजाको नेपाल मण्डलमाथिको विजयोत्सव मनाउन पर्ने नेवारहरू माथि थोपरिएको विवशताको ।
यसको सन्दर्भमा राजेन्द्रजी भन्नुहुन्छ, पृथ्वीनारायण शाहले गोर्खा दरबारदेखि सप्तमीको दिन फूलपाती झिकाएर सडकमा पल्टन खेलाएर बडाइँ गर्दै नेपालमाथिको विजयको प्रदर्शनको रूपमा दसैं मनाए । संगै मोहनी चाडलाई नै दशैंको रूपमा रूपान्तरित गर्न नेवारहरूलाई जबर्जस्ती नै गरे । यहाँ नै यो कुरा पनि सान्दर्भिक छ कि शाह राजाले देशभरका अन्य मिल्दो नमिल्दो संस्कृति र धर्मका जातजातिहरूलाई पनि यो चाड मनाउन हुकुम चलाए ।
सम्पूर्ण नेवारहरूको लागि असन्तुष्टि भनेको आफ्नै हारमा आक्रमणकारीको विजय उत्सव मनाउन पर्ने विवशतामाथि हो । हिन्दु नेवारहरूको त धेरथोर मिल्ने चाड हो यो दशैँ । तर यहाँनिर यो भुल्नहुन्न कि नेवारहरूमा बौद्ध, क्रिश्चियन, मुसलमान धर्माबलाम्वीहरू पनि छन् । संगै ती जनजातिहरूको पनि कुरा उठाउँदैछु, जो हाल दशैंलाई बहिष्कार गर्न अभियानरत छन् । यी समूहको लागि यो मिल्दो चाड हुनुको त परै जावस आफुमा हुँदै नभएकोलाई अनचाही बेअर्थि तथाकथित उत्सब मनाउन जवर्जस्ती भयो । उनीहरूमध्ये कसैकसैले जुन गाईलाई खाद्यको रूपमा लिन्थे, त्यही गाईलाई पूज्ने यो धर्मको चाड मनाउनु परेको थियो ।
मेरो कुरामा चित्त नबुझ्ने तपाईं कोही हुनुहुन्छ भने एक छिनको लागि मान्नुहोस, तपाईं धर्मपूरी भन्ने हिन्दुराज्यको नागरिक हुनुहुन्थ्यो रे तपाइको धर्मपुरीलाई असुर धर्मका राजाले हडपेछ रे । उसले अब भूतप्रेतलाई मात्र मान्ने अनि बाँदरको बलि चढाउने र बोकाको पूजा गर्ने चाड मनाउन जबरजस्ती भयो भने तपाइंको मानसिकता कस्तो हुन्छ ? बस् हुने सबैलाई त्यस्तै हो ।
मैले यो उदाहरणको लागि काल्पनिक कुरा गरेको हुँ । विग्रह ल्याउन गरेको होइन । जस्तो तपार्इंको संस्कृतिमाथि अहिले तपाइंलाई अनास्था प्रकट भएको लागि रहेछ, सोच्नुहोस ती जातिहरूले त यही कुरो अढाइसय वर्ष पूर्वदेखि नै जबर्स्त भोग्दै आएको हो । अझ कति यसैको नाममा जेल गए कति मारिए ।
जबर्जस्तीमा परेकाहरूले मुक्ति पाएपछि आफ्नो पूरानो पहिचानको खोजी गर्छ । त्यो विग्रहको लागि हुन्न । कसैलाइ होच्याउन होइन । त्यसैले मैले आफ्नो गुमेको चाडको स्थापाना गर्न खोज्दा साँस्कृतिक अतिक्रमण भन्न मिल्दैन । हाम्रो मानेमा त्यो अतिक्रमण त पहिले भएको हो । मात्र त्यो धसिएको संँस्कृतिको पुनरुद्धार गर्न मात्र खोजिएको हो ।
जसले खोसेर लिएको हो फिर्ता दिन परेको अवस्था छैन । कसैलाई नोक्सान पार्न खोजिएको पनि होइन । जसले गुमाएको हो, के गुमेछ र त्यसलाई कसरी स्थापना गर्ने प्रयत्न मात्र हो । जो लादिएको थियो त्यसलाई छोडने चाह र प्रयास मात्र हो । कसैले कसैलाई जबर्जस्ति गरेको छैन । गर्न परेको छैन । सबैमा सहिष्णुता होस् ।
मोहनीको बारेमा ममा बढी ज्ञान भएन । नामेट त हुँदै नै रहेछ तर मेरो खोजी जारी रहने छ । थाहा हुने साथीहरूले यसमा योगदान दिनुनै हुनेछ । कुनै पनि चाडपर्व कुनै पनि जातिमाथि हावी नहोस । यही चाडको शुभउपलक्षमा मेरो शुभकामना छ कि दशैं अब कुनै जातजाति वा कुनै धर्म वा संस्कृतिमाथिको विजयको उत्सब नरहोस । जसरी भनिने गरिएको छ, यो गाह्रो सारो समस्या र कष्टमाथिको विजयको रूपमा रूपान्तरित होस् । सबै जातजातिका र सबै धर्मका मित्रहरूलाई दशैंको शुभकामना । मोहनीको पनि शुभ कामना ।।
लेखक अहिले बेलायत बस्छन्
















प्रतिक्रिया