नुवाकोट, १० असोज । नुवाकोट जिल्लाको उर्लेनी गाविसका पहिरोबाट प्रभावित ८८ परिवारलाई अर्थमन्त्री डा. रामशरण महतले शुक्रबार गाउँमै पुगेर राहत सामग्री प्रदान गर्नुभएको छ ।
हेलिकप्टरबाटै आउनु भएका अर्थमन्त्री डा. महतले विस्थापितहरुलाई रेडक्रसबाट उपलब्ध भएको टेण्ट, कम्बल, पाल, भाडाकुँडा र प्रति परिवार १० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।
दुई महिनाअघि उर्लेनी गाविसको वडा नंं १ र २ मा जमीन फाट्ने र पहिरो जाने समस्याका कारण गाविसका ८८ परिवार विस्थापित भएका थिए ।
पहिरोबाट यस गाविसका एक सय १९ परिवार विस्थापित हुने अवस्थामा रहेको जिल्ला दैवीप्रकोप उद्दार समितिले जनाएको छ ।
उर्लेनी गाविसको वडा नं. १ र २ का काल्चे, थिंगटोल, कान्छाटोल, गाङ्गटोललगायतका टोलका घरहरु असुरक्षित रहेका छन् ।
पहिरोकै कारण दुई महिनादेखि वडा नं. १ मा रहेको मंगलेश्वरी प्राथमिक विद्यालयमा अध्ययन÷अध्ययपन हुन सकेको छैन ।
पहिरोगस्त क्षेत्रको स्थलगत निरीक्षणपछि पहिरोबाट विस्थापित परिवारलाई पुर्नस्थापनाका लागि सरकारको तर्फबाट पहल गरिने र थप राहतको सामग्री वितरण गरिने मन्त्री महतले आश्वसन दिनुभयो ।
अर्थमन्त्री डा. महतसहित नेपाली कांग्रेसका सचिव रमेशकुमार महत, रेडक्रसकर्मी, सञ्चारकर्मीसहितको टोली हेलिकप्टरमा उर्लेनी गाविसको काल्चे पुगेर विस्थापित घरपरिवारलाई राहत वितरण गरेका थिए ।
पहिरोबाट विस्थतापितको अवस्था दयनीय रहेको बताउँदै राहत वितरणमा सहभागी भएका सहायक प्रमुख जिल्ला अधिकारी तीर्थबहादुर अधिकारीले अहिले पनि वर्षात भइरहेकाले थप परिवार पनि विस्थापनको चपेटामा गर्न सक्ने चिन्ता व्यक्त गर्नुभयो ।
















प्रतिक्रिया