काठमाडौँ, १० असोज । प्रधानमन्त्री सुशील कोइराला र बंगलादेशका प्रधानमन्त्री शेख हसिना बाजेदबीच बिहीबार भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा भाग लिने क्रममा न्युयोर्क पुग्नु भएका दुवै प्रधानमन्त्रीको न्युयोर्कस्थित ग्रायन्ड हायत होटलमा भएको उहाँका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
भेटका अवसरमा दुवै मुलुकको समसामयिक राजनीतिक स्थिति, दुई देशबीचको सम्बन्ध र आपसी चासोको विषयमा छलफल भएको थियो ।
भेटका अवसरमा प्रधामन्त्री कोइरालाले नेपालको शान्तिप्रक्रिया र संविधान लेखनमा भइरहेको प्रगति तथा काठमाडौँमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलनको तयारीका बारेमा बङ्गलादेशकी प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
बङ्गलादेशकी प्रधानमन्त्री बाजेदले सार्कको भूमिकालाई थप प्रभावकारी तुल्याउन यस क्षेत्रका सबै मुलुक मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको थियो ।
भेटमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई तथा परराष्ट्र मन्त्रालयका कायममुकाय सचिव शङ्करदास वैरागी र शिष्टाचार महापाल कालीप्रसाद पोखरेल सहभागी हुनुहुन्थ्यो ।
















प्रतिक्रिया