टिप्पणी: राधाकृष्ण देउजा / अमेरिका
भन्नका निम्ति नेपाल लोकतान्त्रिक गणतन्त्र तर व्यवाहारमा त्यस्तो अक्सर अनुभत गर्न लोकले पाउँदैन । लोकतन्त्रको मजाक नै भनौं, अनाहकमा मारिएका आफ्नो छोराको हत्यारालाइ कानुनको कठघरामा ल्याउन मृतकका बुवा-आमाले गरेको शान्तिपूर्ण कोसिस व्यर्थ भएको छ । छोराका हत्यारा पक्राउको मागगर्दै अनशन बस्दाबस्दैको अवस्थामा बाबु नन्दप्रसाद अधिकारीको ३३३ दिनको अनसनपछि मृत्यु भएको छ भने आमाको पनि त्यही हालत हुने खतरा विद्यमान छ । विचरा नन्दप्रसादले अरु केही मागेका थिएनन, मागेका थिए त केवल आफ्नो दश वर्षअघि माओवादीले चितवन टाँडीमा मारेका कान्छा छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाइ कारवाही । विडम्वना, उनका छोराका हत्याराहरुलाई कारवाही हुने त टाढाका कुरा प्रहरीले हत्यामा शंकास्पद र किटान गरिएकाहरुलाई गिरफ्तारी गरेर छानविन समेत गर्न पाएन ।
मुलुकका तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराई स्वयम् हत्याका आरोपीहरुको वचाउमा खुल्लेआम उत्रिएर दुनियाँलाइ छक्क पार्दै प्रहरी कार्यालयमा गएर जिल्ला प्रहरी प्रमुखलाइ हत्याराहरुको पक्षमा भूमिका खेल्न निर्देशन दिए । कितावी विद्धान भएपनि भट्टराई हिंसा र आतंकको बलमा सत्ताको स्वाद चाखेका व्यक्ति थिए, हिंसा र आतंकको संवाहक माओवादी पार्टीका नेता थिए, त्यसैले उनले हत्यारा वचाउन खोज्नु उनको पहिचान थियो, उनको धर्म थियो तर हिंशा र आतंकका संवाहकहरु हत्यारा बचाउन ज्यान छाडेर लागिरहंदा पनि आफूलार्इ लोकतन्त्रको मसिया ठान्नेहरु त्यसको प्रतिवादमा उत्रिएनन । नन्दप्रसाद अनि उनकी पत्नीको न्याय प्राप्तिको लडार्इमा आफूलाइ लोकतन्त्र र मानव अधिकारको पक्षधर भन्ने राजनीतिक दलहरुका नेताहरुको जे-जस्तो ऐक्यवद्धता हुनुपर्थ्यो, त्यो हुन सकेन । त्यस्तो किन भएन भन्दा लोकतान्त्रिक व्यवस्थामा हालीमुहाली गर्नेहरु मध्य अधिकांश मानवता, देश र जनताको स्वार्थको हैन, आफ्नो र आफ्नाहरुको स्वार्थका दास हुन, त्यसैले उनीहरु आफुलार्इ अप्ठेरो नपर्ने खालका घटनाक्रमलाइ नजरअन्दाज गर्छन । नन्दप्रसाद अनि उनकी पत्नीको आन्दोलन पनि लोकतन्त्र भित्र हुर्किरहेको स्वार्थी चिन्तनको सिकार भयो भन्दा अन्यथा हुनेछैन ।
नन्दप्रसादका छोरा एसएलसी दिएर हजुरआमा भेट्न चितवन गएको बेलामा माओवादी आततायीहरुको सिकार भएका थिए । एसएलसी भर्खरै दिएको त्यो नादन कृष्णप्रसाद अधिकारी कुनै पनि हिसावले युद्धमा सहभागी थिएनन, तैपनि कसैको सनकको सिकार भएर उनि मारिएका थिए तसर्थ उनको मृत्युलार्इ कुनै पनि हालतमा युद्धको दौरान भएको घटना भनेर क्षमा दिने प्रश्नै आउँदैन थियो । मानवअधिकार भन्ने शव्दको सम्मान मात्रै हुन्थ्यो भने उनका हत्याराको खोजी र गिरफ्तारी कुनै आन्दोलनको विषय बन्नै पर्दैन थियो, त्यो त राज्यको नियमित कामको एउटा अंश हुनुपर्थ्यो ।लेख्न पनि अप्ठयारो लाग्छ, हत्यारालाइ कारवाही गर्नुपर्ने सरकार हत्याराहरुको वचाउ गर्नेहरुको सामु निरीह बन्नपुग्यो । कृष्णप्रसाद अधिकारीका हत्या गर्ने आदेश हामीले दिएको हौँ भनेर खुल्लेआम माओवादी नेताहरुको गर्जन गरिरहेका थिए अनि सरकार त्यो गर्जनलाइ सुनेको नसुन्यै गरेर टारी रहेको थियो । मुलुकमा जननिर्वाचित निकाय संविधानसभा विद्यमान थियो, त्यहाँ पनि कृष्णप्रसाद अनि उनी जस्तै निहत्था र निर्दोष नागरिकहरुको हत्याको विषय जुन महत्वका साथ उठनुपर्थ्यो त्यसरी कहिल्यै उठेन र कसैले उठाउन आवश्यक नै ठानेनन । संविधान बन्न नसकेको सत्य एकातिर छ तर हाम्रो मुलुकमा दोश्रो पटक संविधानसभा गठन भएको छ र त्यो संसदलार्इ राजनीतिक दलहरुले पटकपटक अवरुद्ध गरेका छन् तर कुनै पनि दलले हत्याराको खोजी हुनुपर्छ भन्ने नन्दप्रसादको आवाजमा ऐक्यवद्धता जनाएर संविधानसभामा सशक्त आवाज उठाएको जनताले थाहा पाएका छैनन । माओवादीको ज्यादतीविरुद्ध आवाज उठाउने प्रसंग आउँदा आफूलाई लोकतान्त्रिक भन्ने दलका चलाखहरु हमेसा भन्छन- ‘शान्ति प्रक्रियालाई असर हुने काम कहीँकतै बाट गर्नुहुँदैन, माओवादीलार्इ भडकाउन हुँदैन। उनीहरुको उत्तरमा प्रयोग गरिएका शव्दले अक्सर हामी मध्य कतिपयलाई हो कि जस्तो गराउने गरेको छ तर यदि तथ्य केलाएर हेर्ने हो भने विश्वसनीय शान्ति स्थापना भएकै छैन अनि कसरी त्यसलाई असर पर्छ ? भनेको जस्तो भएन भने जोरजबर्जस्ती गर्ने कार्यहरु भएकै छन, अहिले भर्खरै पनि भनेको जस्तो नहुने बित्तिकै बल प्रयोगगर्ने भन्ने नीतिमा दुवै माओवादी सहमत भएकै छन । कसैले माने पनि नमाने पनि सत्य के हो भने समय अनुसार आफूलार्इ चाहिएको मात्रामा हिंसा र आतंकको प्रयोग भएकै छन । समयमै नचेत्ने र आफूलाई परेको हैन क्यारे भन्ने हिसावले घटनाहरुलाई नजर अन्दाज गर्दै जाने हो भने अहिले मुर्झाएको हिंसात्मक अतिवादले टाउको उठाउने छ र फेरी एकपटक शव्दकै भएपनि कायम रहेको लोकतन्त्रको वलात्कार हुनेछ । आज न्याय माग्दै गर्दा नन्दप्रसादको जीवन गएको छ, तर यहाँ भुल्न हुदैन कि उनि एक उदाहरण मात्रै हुन ।
नन्दप्रसादले सार्वजनिक ढंगले घोषणा गरेर छोराको हत्यारा पक्राउको माग गर्दै अनशन वसेको हुनाले धेरैले उनको मृत्युको वारेमा थाहा पाउने अवस्था वन्यो तर आफ्ना आफन्तको मृत्युको साक्षी बनेका कतिपय व्यक्तिहरुको पीडा हामीले देख्न, सुन्न पाएको छैनौ । खोज्ने हो भने थुप्रै भेटिने पक्का छ । नन्दप्रसादको जीवन त न्यायको खोजीमै वितिहाल्यो तर अव त्यस्तो नहोस भन्नेमा सवै लोकतन्त्रवादी, मानवअधिकारवादी र सच्चा देशभक्तहरु एकजुट हुनैपर्छ । जब जब निहत्था नागरिक हत्याको विषय आउँछ, तब युद्ध उन्मादीहरु भन्छन- ‘युद्धको दौरान भएका घटनाको वारेमा प्रश्न उठाउन पाइदैन ।’
तर, उनीहरुले बुझेका छन कि जुन जुन घटनाको विषयमा कुरा उठेको छ त्यो कुनै पनि युद्धमा सहभागीहरुको वीचको दोहोरो भिडन्तको घटनाको कुरा हैन अनि उनीहरु नबुझेझैं गर्छन र निहत्था र निर्दोषको मृत्युका जिम्मेवारहरुलाई बचाउने षड्यन्त्र गर्छन । परिणाम ओखलढुंगाका उन्जनकुमार श्रेष्ठका हत्यारा सानका साथ हेलिकप्टरमा शयर गर्छन, अर्जुन लामाका हत्यारा संविधानसभा चुनाव जित्छन, कृष्ण सेनका हत्याराहरु पुरष्कृत हुन्छन अनि कृष्णप्रसादका हत्याराहरुलाई राज्य देखेको नदेख्यै गर्छ । अव यस्ता झुठ र षड्यन्त्रको पर्दाफास गर्नुपर्छ, हत्याराहरुले खुल्लमखुल्ला हिड्ने अवस्थाको अन्त्य गर्नैपर्छ ।
हालका लागि न्यायको निम्ति अविचलित आन्दोलन गर्दै गर्दा मृत्यवरण भएका आदरणीय नन्दप्रसाद अधिकारीलाइ श्रदान्जली सिवाय केहि दिन सक्ने अवस्था नै वांकी छैन । निहत्था जनताको इज्जत नहुने वर्तमानको विडम्वनाको सिकार भएर मृत्युवरण गर्ने ति साहसिक पिता नन्दप्रसाद अधिकारीज्युलाइ हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । आफ्नो स्वार्थका दासहरुको हालीमुहाली भएको हुनाले हाल नन्दप्रसाद अधिकारीका छोराका हत्याराहरु स्वतन्त्र घुमिरहेको भएपनि एक दिन यही लोकतान्त्रिक व्यवस्थाको हर्ताकर्ता देश र जनताप्रति समर्पितहरु हुनेछन र त्यस दिन सवै खालका अपराधीहरुले अपराध अनुसारको सजायँ भोग्न वाध्य हुनैपर्नेछ । यद्यपि यहाँ एउटा सत्य स्मरण गर्नु वान्छनीय हुनेछ, त्यो के भने परिवर्तन अर्काले गरिदिदैनन, त्यसको निम्ति हामी आफैं अग्रसर हुनुपर्छ । हामी सवै जुटेर मानवता, राष्ट्रभक्ति, जनसेवाको पवित्र भावनाले मुलुकको वेथिति अन्त्य गर्ने अभियानमा लाग्न सक्दाको दिन मात्रै हाम्रो मुलुक हाम्रो कल्पनाको मुलुक हुनेछ, नन्दप्रसाद अनि उनी जस्ता थुप्रैले न्याय पाउन सक्ने मुलुक हुनेछ ।
















प्रतिक्रिया