४ कार्तिक २०८३, बुधबार

नेपालीहरुको महान चाड दशैं शुरु, आज घटस्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ghatasthapana

काठमाडौं, ९ असोज । नेपालीहरुको महान चाड बडादशैं आजदेखि १५ दिनसम्म अर्थात् आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म परम्परानुसार दुर्गा भवानीको पूजा–आराधना गरी मनाइदैछ । बडादशैंको पहिलो दिन आज बिहान आ–आफ्ना घरको पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेशको पूजासहित माटोको पूर्ण घडामा गाईको गोबर टाँसी जौ र मकै रोपेर घटस्थापना गरिँदैछ । यसपाली घटस्थापनाको शुभसाईत विहीवार विहान १०.४५ भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धीको प्रतिक पहेँलो जमरा नै प्रयोग गरिने हुनाले जमरा उमार्न शुद्ध माटो तथा बालुवा प्रयोग गरिन्छ । यसरी जमरा राख्दा घटस्थापनाको अघिल्लो दिन नै आ–आफ्ना घरआँगनलाई लिपपोत गरी सिँगारेर सफासुग्घर राखिन्छ । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा आजदेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गर्ने गरिन्छ ।

परम्पराअनुसार घटस्थापनाका उपलक्ष्यमा काठमाडौको हनुमानढोका दरबारमा रहेको दसैघरमा वैदिक विधिपूर्वक जमरा राखी महाकाली, महालक्ष्मी, महासरस्वतीलगायत नवदुर्गा र अन्य शक्तिपीठहरुमा नवरात्रि पूजा आरम्भ गरिन्छ । आजकै दिनदेखी पोखराको बिन्ध्यवासिनी, भद्रकाली लगायतका मन्दिरहरुमा नौ दिन सम्म दुर्गापुजा गर्ने चलन रहेको छ ।

पञ्चाङ्ग निर्णायक समितिले यसपाली महानवमी र विजयादशमी एकै दिन असोज १७ गते शुक्रवार नै परेकोले महानवमीको कार्य समाप्त गरेपछि मात्र विजयादशमीको कार्य प्रारम्भ गर्नु पर्ने भनेका छन् । समितिले विजयादशमी देवी विसर्जन विहान ९.५५ र टीका विहान १०१५ बजे हुने पनि जनाइएको छ ।

असोज ९ गते घटस्थापनादेखि असोज २१ गते कोजाग्रत पूणिर्मासम्म सर्वोच्च अदालत सार्वजनिक विदामा बन्द रहने हुंदा यस अवधिमा बन्दीप्रत्यक्षीकरण रिट सुनुवाईको प्रयोजनको लागि धटस्थापना , विजयादशमी र शनिवारका दिनबाहेक अरु दिन विहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत (इजलास) खुल्ला राख्ने सर्वोच्च अदालत प्रशासनले ब्यवस्था गरेको छ ।

विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका परिवारका सदस्यहरु सपरिवार बसेर दसै मनाउन घर फर्कने क्रम सुरु भइसकेको छ । घर जान र घर फर्कनाका लागि राजधानीमा मानिसहरु आउने र त्यहाँबाट बाहिर जाने क्रम पनि आजकै दिनदेखि शुरु हुन्छ ।