
काठमाडौं, ८ असोज । गुरुङ जातिको उदगमस्थल ख्होलासोंथरबारे पहिलो फोटो प्रदर्शनी बुधबारबाट राजधानीमा सुरु भएको छ ।
लमजुङ र कास्की जिल्लाको सिमानामा रहेको ख्होलासोँथरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रबद्र्धन गर्ने उद्देश्यले फोटो प्रदर्शनी आयोजना गरिएको हो । काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषदमा बिहीबारसम्म चल्ने प्रदर्शनीमा ख्होलासोंथर पुगेर दैनिक नेपाल डटकमका सम्पादक गणेश पाण्डे लगायतले खिचेका फोटोहरु प्रदर्शनीमा राखिएका छन् ।
प्रदर्शनीको विशेष समारोहबीच बुधबार श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले उद्घाटन गर्नुभयो । प्रदर्शनीको उदघाटन गर्दै राज्यमन्त्री गुरुङले ख्होसोँथरको प्रबद्र्धन र प्रचारप्रसार गर्न अब राज्यले नै पहल गर्ने बताउनुभयो । ख्होलासोंथरलाई प्रबद्र्धन गर्न सके बेसीशहर–चामे सडकको वैकल्पिक पदमार्ग निर्माण गर्न सकिने उहाँले बताउनुभयो ।
यसैगरी, राष्ट्रकवि माधवप्रसाद घिमिरेले फोटो प्रदर्शनीले संस्कृति र सम्पदा बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
तमु (गुरुङ) जातिको ऐतिहासिक उद्गमस्थल “ख्होलासोंथर” तत्कालिन घले राजाहरुको राजधानी हो । ‘आजभन्दा करिब ११ सय बर्ष पहिले ख्होलासोँथरमा घले (तमु) राजाहरुले राज्य संचालन गरेको र सोही ठाउँबाटै गुरुङ सभ्यताको प्रारम्भ भएको मानिन्छ,’ राप्रपाका केन्द्रीय सहायक मन्त्री एवं जिल्ला विकास समिति लमजुङका पूर्वसभापति हेमजङ गुरुङले भन्नुभयो, ‘ख्होलासोँथरबाटै गुरुङहरु लमजुङको घनपोखरा, भुजुङ, घलेगाउँ, सिउरुङ तथा कास्कीको सिक्लेस तथा ताङतिङ हुँदै देशका विभिन्न गाउँ बस्तीहरुमा बसाईंसराईं गरेको भन्ने मान्यता छ ।’ उहाँका अनुसार, ख्होलासोँथरको ऐतिहासिक एवं पुरातात्विक महत्वबारे अध्ययन, अनुसन्धान गर्न पुरातव्य विभाग र बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयले सन् २००० मा ख्होलासोँथर क्षेत्रमा उत्खनन कार्य गरेको थियो ।
यसैगरी, लमजुङ क्षेत्र नम्बर १ का सभासद् जमीन्द्रमान घले, पूर्वमन्त्री तोरण गुरुङ र तमु ह्युल छोंज धीँका केन्द्रीय अध्यक्ष रेशम गुरुङले ख्होलासोंथरलाई प्रबद्र्धन गर्न आफूले सक्दो पहल गर्ने बताउनुभयो । फोटो प्रदर्शनी अवलोकन गर्दै अष्ट्रेलियन राजदूत ग्लेन ह्वाइटसहित विभिन्न प्रबुद्ध व्यक्तिहरुको सहभागिता थियो ।
प्रदर्शनीमा ख्होलासोँथरमा घलेराजातको दरबारको भग्नावषेश, ११ सय बर्ष पुरानो बस्तीको अवशेषसहित लमजुङको पर्यटकीयस्थल घनपोखरा, घलेगाउँ, भुजुङ, सिउरुङसहित गुरुङ जातिको कला र संस्कृति झल्कने विभिन्न फोटोहरु प्रदर्शनीमा राखिएको छ । आयोजक समितिका अध्यक्ष रिखीप्रसाद गुरुङले पुरातात्विक एवं ऐतिहासिक महत्व भएको ख्होलासोँथरमा गुरुङ जातिबारे अध्ययन तथा अनुसन्धान गर्न र प्राकृतिक मनोरम दृश्यावलोकन गर्ने नयाँ गन्तव्यको रुपमा विकास, संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्न घनपोखरा समाजले विस्तृत योजना बनाएको छ ।
सडक यातायातको विकाससँगै लमजुङ जिल्लाबाट सुरु भएर मनाङ–मुस्ताङ हुँदै पोखरासम्मको २९ दिने प्रख्यात अन्नपूर्ण पदयात्रा मार्ग विस्थापित हुने अवस्थामा रहेकाले वैकल्पिक पदमार्ग एवं नयाँ पर्यटकीय गन्तव्यका रुपमा ख्होलासोँथरलाई विकास गर्न सकिने आयोजकको विश्वास छ ।
लमजुङ सदरमुकाम बेसीशहरबाट घलेगाउँ, घनपोखरा, हुँदै ख्होलासोँथर पुग्ने र त्यहाँबाट पश्चिमतर्फ कास्कीको ताङतिङ (नामार्जुङ), सिक्लेसबाट पोखरा जाने तथा उत्तरतर्फ ठूलो लेक, दुधपोखरी, नामुनभन्ज्याङ, पारगरी, मनाङको तिमाङ जाने नयाँ पर्यटकीय पदमार्गको निर्माणका लागि जिविस लमजुङ र मनाङ, नेपाल पर्यटन बोर्ड, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) तथा टानले संयुक्त रुपमा पहल गरिरहेको छ ।
फोटो प्रदर्शनीमा ख्होलासोथर पुगेर फोटो प्रदर्शनी गरी देश विदेशमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेकोमा पत्रकार पाण्डे र गगन विष्टलाई सम्मान पनि गरिएको थियो । प्रदर्शनी बिहीबार ५ बजेसम्म चल्नेछ ।
























प्रतिक्रिया