काठमाडौँ, ८ असोज । वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले मुलुकको व्यापार घाटालाई कम गर्न नयाँ वाणिज्य नीति चाँडै ल्याइने बताउनुभएको छ ।
राष्ट्रका लागि युवा नामक संस्थाले बडादसैँ, तिहार, नेपाल संवत्, छठ र इदका अवसरमा बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
विभिन्न मन्त्रालयकाबीच आवश्यक संयोजन तथा देशमा निर्यातयोग्य उत्पादन हुन नसकेकाले घाटा बढ्दै गएको उहाँको भनाई थियो ।
उहाँले पेट्रोलियम पदार्थको मूल्यको निर्धारण अब अन्तर्राष्ट्रिय मूल्यअनुसार गरिने गरी नीति ल्याउनका लागि गृहकार्य भइरहेको पनि उल्लेख गर्नुभयो ।
चाडबाडको समयमा नेपालीलाई राहतमा खाद्य सामग्री उपलब्ध गराउन देशका विभिन्न ६६ वटा स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएकोसमेत उहाँले जानकारी दिनुभयो ।
मन्त्री थापाले आगामी दिनमा अन्य जनजातिको चाडपर्वमा पनि सुपथ मूल्य सञ्चालन गरिने बताउनुभयो ।
आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माले देशमा अपेक्षाकृत रुपमा सामाजिक तथा आर्थिक उन्नति हुन नसकेको भन्दै युवावर्गको विचारलाई उपयोग गरी मुलुकमा बेरोजगारी तथा गरिबी न्यूनीकरण गर्न सकिनेमा जोड दिनुभयो ।














प्रतिक्रिया