१ कार्तिक २०८३, शनिबार

गाँस, बास र कपासका लागि वादी महिला देह व्यापारमा, सरकार रमिते मात्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape630tyu66767

धनगढी, ८ असोज । आयआर्जन गर्ने कुनै अवसर नपाएपछि कैलाली जिल्लाका वादी समुदायका कतिपय महिला भारतका सहरमा गएर देह व्यापारमा लाग्न थालेका छन् ।

वादी समुदायका महिलाले जीविकोपार्जनका लागि बाध्यात्मक रुपमा यौन पेसा गर्दै आएकोमा सरकारले विसं २०६५ मा यो समुदायले यौन पेसा गर्न नपाउने भन्दै त्यसको अन्त्यको घोषणा गरेको थियो ।

गाँस, बास र कपासको उचित व्यवस्था गर्न माग गर्दै काठमाडौँमा वादीद्वारा गरिएको आन्दोलनको फलस्वरुप सरकारले यौन पेसाको अन्त्यको घोषणासहित उनीहरुको पुनःस्थापना गर्ने प्रतिबद्धता गरेको थियो ।

यौन पेसाको अन्त्यको घोषणा गरिएको भए पनि उनीहरुको उचित पुनःस्थापनाको व्यवस्था हुन नसक्दा अहिले कतिपयले विभिन्न बहानामा भारतमा गई देह व्यापार गर्ने गरेको पाइएको वादी समुदायका अगुवा बताउँछन् ।

यो समुदायका युवती तथा महिलालाई उनीहरुकै आफन्तले भारतमा लगेर देह व्यापारमा लगाउँछन्, वादी समुदाय उत्थान विकास समितिका निर्देशक शिविराज रानाभाडले भन्नुभयो “यौन पेसाको अन्त्यको घोषणापछि प्रभावकारी रुपमा वादीको पुनःस्थापनालगायतको व्यवस्था हुन नसक्दा कतिपय वादी युवती तथा महिला भारतमा गएर देह व्यापारमा लाग्न बाध्य भएका हुन् ।”

जग्गा खोजेर वादीलाई पुनःस्थापना गराउने अधिकार सरकारले विकास समितिलाई नदिएको कारण अधिकांश वादीको उचित पुनःस्थापना हुन सकेको छैन । फलस्वरुप उनीहरु अझै पनि बाध्यत्मक यौन पेसामा लागेको देखिएको उहाँको भनाइ छ ।

उपचार गराउने बहानमा वादीका युवती तथा महिलालाई उनीहरुका आफन्तले भारतमा लगेर देह व्यापार गराई धन कमाउन लगाउने गरेको बताइएको छ ।

समाजमा घृणित पेसाका रुपमा लिइने यौन पेसाको अन्त्यको घोषणा गरिएपछि समाजमा केही हदसम्म यो पेसामा कमी आएको देखिए पनि लुकिछिपी रुपमा अझै पनि कतियले यो पेसा अपनाएर जीविका चलाउँदै आएका छन् ।

यौन पेसा अन्त्यको घोषणसँगै “पहुँचवाला र टाठाबाठाले अवसार पाएको तर पहँुचमा पुग्न नसक्नेको अवस्था ज्यूँका त्यूँ रहेको देखिएकाले वादी समुदायका समस्या अपेक्षाकृतरुपमा समाधान हुन नसकेको समितिका सदस्य अर्जुन नेपाली वादीले बताउनुभयो ।”

“नम्बरी जग्गा भएकालाई जनही रु १५ हजारसहित बस्नको लागि घरसमेत निर्माण गरिदियो, नेपालीले भन्नुभयो– तर जग्गा नभएकाको पुनःस्थापना हुन नसक्दा उनीहरुमध्ये कतिपय भारत पलायन भएर देह व्यापारमा लाग्न बाध्य भएका छन् ।”

भारत गएर देह व्यापार गर्न बाध्य हुनेमा १३ वर्षदेखि ४० वर्ष उमेरका युवती र महिला रहेका बताइएको छ । कैलाली जिल्लाबाट मात्रै झन्डै २८ जना युवती तथा महिला देह व्यापारका लागि भारत पलायन भएको जनाइएको छ ।

अल्पसङ्ख्यक र सीमान्तकृत वादी समुदायको जनसङ्ख्या नेपालमा ३८ हजार ६०३ रहेकोमा कैलाली जिल्लामा मात्रै झन्डै दुई हजार ८०० रहेको बताइएको छ । जिल्लाको मुढा, सत्ती, दिव्यपुर, विष्नुकान्तिपुर, भल्का, गिदनियामा यो समुदायको बसोबास रहको छ ।

वादी समुदाय उत्थान विकास समितिले यो समुदायका व्यक्तिका लागि विभिन्न सीपमूलक एवम् स्वरोजगारमूलक तालिम सञ्चालन गरिरहेको छ । यसबाहेका सरकारले घर आवास कार्यक्रम पनि सञ्चालन गरेको छ ।

नेपालमा बाइसे र चौबिसे राज्य भएको समयमा राजा रजौटाले नाचगान गरेर मनोरञ्जन गर्ने गाराउने उद्देश्यले भारतको बैशाली राज्यबाट वादी समुदायका व्यक्तिलाई नेपालमा भित्र्याएको बताइन्छ ।

नाचगान गरेर राजा रजौटालाई मनोरञ्जन प्रदान गर्ने, मादल बनाउने, माछा मार्ने यो समुदायको मुख्य पेसा रहेको भए पनि विस्तारै समाजका सभ्रान्त एवम् हुने खाने परिवारका व्यक्तिले गर्ने गरेको शोषणको फलस्वरुप यी समुदायका महिला बाध्यत्मक यौन पेसामा लागेको वादी समुदाय उत्थान विकास समितिका कार्यकारी निर्देशक रानाभाँड बताउनुहुन्छ ।

नेपालको कैलालीसमेत दाङ, रुकुम, डोटी, कालिकोट, दार्चुला, कास्कीलगायतका जिल्लामा यो समुदायको बसोबास रहेको छ । रासस