१ कार्तिक २०८३, शनिबार

जङ्गली हात्तीद्वारा १७ लाखको अन्नबाली नष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

elephant

पुनर्वास (कञ्चनपुर), ८ असोज । सीमावर्ती भारतीय दुधवा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले पुनर्वास तथा आसपासका बस्तीमा झन्डै १७ लाख बराबरको धान र उखुबाली नष्ट गरेपछि यहाँका कृषक चिन्तित बनेका छन् ।

जङ्गली हात्तीको बथानले पुनर्वास नगरपालिकाको बिचफाँटा, मातिया, कंकर, जनकबस्ती र बाइसीबिचवाको भीमबस्तीका कृषकको रु नौ लाख ५९ हजार बराबरको धानबाली नष्ट गरेको हो ।

यसैगरी बेलौरी नगरपालिकाको फटिया, मोतीपुर, शान्तिपुर र देखतभुलीमा रु छ लाख ७७ हजार बराबरको धान बाली र उखु नष्ट गरेको छ । मानव बस्तीमा जङ्गली हात्तीले गरेको क्षतिको सर्जमिन मुचुल्का बनाइसकेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ ।

वन्यजन्तुबाट भएको क्षतिको प्रहरी सर्जमिन मुचुल्कासहित निवेदन आए क्षतिपूर्तिका लागि प्रशासनले तयारी गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताउनुभयो ।

शुक्लाफाँटा आरक्ष र मध्यवर्ती क्षेत्रको बस्तीमा वन्यजन्तुले गरेको बालीको क्षतिपूर्ति आरक्ष प्रशासनले दिने व्यवस्था मिलाइएको प्रजिअ घिमिरेले बताउनुभयो । यसबाहेक सामुदायिक वन क्षेत्र र अन्य स्थानका मानवबस्तीमा वन्यजन्तुले गरेको क्षतिको क्षतिपूर्ति पीडितले जिल्ला वन कार्यालयबाट पाउने उहाँले बताउनुभयो ।

बाली भित्र्याउने बेलामा हात्तीको बथानले धानबाली नष्ट गर्दा ठूलो मर्का परेको कृषक दीर्घबहादुर सिंहले बताउनुभयो ।

कृषकको धानबाली जोगाउन प्रहरीले हात्ती धपाउने अभियान थालेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

यस क्षेत्रमा बर्सेनि वन्यजन्तुले अन्नबाली नष्ट गरी दुःख दिँदै आए पनि क्षतिपूर्ति र राहत कहीँकतैबाट नपाएको स्थानीय अमरजन सावदले गुनासो गर्नुभयो । रासस