इटहरी, ६ असोज । बिपी प्रतिष्ठानका उच्च पदस्थ कर्मचारीहरुको चरम लापर्बाहीका कारण उत्पन्न कर्मचारी आन्दोलनले प्रतिष्ठान लथालिङ बन्दै गएको छ ।
प्रतिष्ठान लथालिङ बनिरहँदा पनि प्रतिष्ठानका जिम्मेवार पदाधिकारीहरु भने कर्मचारीको माग सम्बोधन गर्नेतिर केन्द्रित नहुँदा आन्दोलन अरु लम्बिएर जाने अवस्था सिर्जना भएको छ ।
प्रतिष्ठानमा कार्यरत कर्मचारीको सङ्गठन कर्मचारी कल्याण मञ्चले आह्वान गरेको आन्दोलनका कारण प्रतिष्ठानमा प्राप्त हुने उपचार सेवा असहज बन्न पुगेको छ । प्रतिष्ठानका जिम्मेवार पदाधिकारी भने कर्मचारीको आन्दोलन तुहाउने षड्यन्त्रमा लागेका छन् । यही क्रममा कर्मचारीको आन्दोलनलाई धरानका राजनीतिक दल, नागरिक समाज र नागरिक अधिकार मञ्चसम्मले समर्थन दिन आइपुगेका छन् ।
विगत सात दिनदेखि चर्किएको प्रतिष्ठानको कर्मचारी आन्दोलनलाई मञ्चका अध्यक्ष प्रेमकुमार राई र सचिव सागर प्रसार्इंले अपिल प्रकाशित कर्मचारीका जायज मागहरु तत्काल पूरा गरी प्रतिष्ठान सुचारु गर्न सम्पूर्ण सरोकारवाला तथा सम्बन्धित व्यक्ति र निकायलाई आग्रह गर्नुभएको छ ।
मञ्चका पदाधिकारीले आफूहरु पनि कर्मचारीको माग पूरा गराउन सिठी जुलुस, मैनबत्ती जुलुस र धर्ना बस्ने बताउंँदै त्यति गर्दा पनि माग पूरा नभए धरान बजार नै बन्द गर्नसमेत पछि नपर्ने चेतावनी दिएका छन् ।
कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले भदौ ३० गते भएको प्रतिष्ठानको सञ्चालक परिषद्को बैठकले समाजसँग गरेको सम्झौता अनुरुप २५ प्रतिशत प्रोत्साहन भत्ता, नेपाल सरकारले गत आव २०७०÷७१ मा वृद्धि गरेको १८ प्रतिशत तलब र रु एक हजार भत्ता, चालु आव २०७१÷७२ मा वृद्धि गरेको १० प्रतिशत तलब तथा एक दिनको तलबबराबर वार्षिक वृद्धि उपलब्ध गराउन माग गर्दै आएको बताउनुभयो ।
मञ्चले प्रतिष्ठानका कर्मचारीको करार सेवाबाटै सेवा अवधि गणना, कर्मचारीहरुलाई प्रशासनिक र प्राविधिक समूहमा वर्गीकरण गरी २१० दिन सञ्चित घरबिदा, शैक्षिक कोटा, जोखिम भत्ता पाउनुपर्ने लगायतका माग पूरा नगरी आयोगको नाममा कर्मचारीको आन्दोलन तुहाउने षड्यन्त्र गरेको भन्दै माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ ।
एक हप्तासम्म आन्दोलन हुँदा पनि कानमा तेल हालेर बस्ने प्रतिष्ठान पदाधिकारी, स्वास्थ्य मन्त्रालय र नवगठित आयोग चुपचाप बस्दा कर्मचारी थप आन्दोलित भएका छन् । रासस
















प्रतिक्रिया