काठमाडौँ, ५ असोज । नेपाली काँग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्यता आवेदन फारम मङ्सिर मसान्तभित्र अनिवार्यरुपमा केन्द्रमा बुझाउने गरी म्याद थप गरेको छ ।
काँग्रेस केन्द्रीय समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । “गत असार २६ गते केन्द्रबाट पठाइएको परिपत्रबमोजिमको प्रक्रिया अनिवार्य पूरा गरी क्रियाशील सदस्यता नवीकरण तथा नयाँ क्रियाशील सदस्यता आवेदन फारम आउँदो मङ्सिर मसान्तभित्रमा जिल्लाले अनिवार्य रुपमा केन्द्रमा बुझाउने गरी म्याद थप गरिएको छ,” काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले भन्नुभयो ।
पार्टी कार्यवाहक सभापति रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको सो बैठकमा महामन्त्री कृष्णप्रसाद सिटौलाले क्रियाशील सदस्यताका बारेमा उठेका गुनासोको समाधान गर्न केन्द्रीय प्रतिनिधि खटाउन सक्ने धारणा राख्दै पार्टीको आगामी महाधिवेशन आगामी भदौभित्र गर्ने गरी कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधानका विवादीत विषयमा पार्टीको धारणा बनाउनुपर्ने धारणासहित आफ्नो लिखित सुझाव प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै केन्द्रीय सदस्य बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, आनन्दप्रसाद ढुङ्गाना, मोहमद आफ्ताव आलम, कमला पन्त र राजनप्रसाद पन्तले पार्टीको महाधिवेशन, सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
















प्रतिक्रिया