२९ आश्विन २०८३, बिहिबार

देश टुक्राउन अभियान चलाउने सीके राउतको गिरफ्तारीलाई कसरी लिने ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kavita-ram-shrestha

डा. कविताराम श्रेष्ठ

“बिचारलाई निषेध ? म सीके राउतको बिचारप्रति असहमत छु, तर उनको बिचार राख्ने स्वतन्त्रताको पक्षमा छु । बिचारलाई निषेध गर्ने राज्य र बिचार लोकतान्त्रिक हुन सक्दैन भन्ने मलाई लाग्छ ।”- यस्तो मैले आफ्नो फेसबूके पाटीमा लेखें ।

यसै सन्दर्भमा मित्र श्यामजंग खत्रीले सीकेको बिचारलाई पागलपन मानी यसरी लेख्नुभो- “आफुलाई जे बिचार आयो त्यही पोख्दै हिंड्नेहरुलाई समाजले पागल नभन्नु पर्ने होइन र ? तपाईं जस्ता विद्वान बसेको देशमा नानाभाती भन्दै हिंड्ने छुट हुन्छ र ? एउटा सार्बभौम भएको मुलुकलाई टुक्र्याउने भन्ने अभिव्यक्ति नि कहीं बिचार हुन्छ र ? यो त विनाश होइन र ?”

त्यसपछि डिल्ली ढुंगानाले मलाई प्रश्न राख्नुभो- “कस्तो वाकस्वतन्त्रता हो सर ? जुन देशमा बस्नु त्यही देशलाई टुक्राटुक्रा पर्नुपर्छ भन्ने ?”

अनि मित्र महेश्वर श्रेष्ठले पनि लेख्नुभो- “देश टुक्राउँछु भन्नु अधिकार हो भने उसलाई टुक्राउँछु भन्नु पनि अधिकारै होला नी ?”

मित्र शिव गौतमले सिकेको बिचार विनाशक हो भनी यसरी भन्नु भो- “बिचारसँग सहमत भए पछि सिके राउतसँग बिमती राख्नुको अर्थ हुँदैन, यहाँ बिचारको बारेमा बहस चलिरहेको छ सिके राउतको शरीरसँग होइन, हरेक क्रान्ति बिचारबाट नै तयार हुन्छन, सिकन्दरले बिचार गरेरै विश्व बिजयको यात्रा शुरु गरेका थिए भने बुद्ध पनि । बिचार गरेरै शान्तिको निम्ती दरवार त्यागेका थिए, गान्धीको बिचारले अङ्रेजलाई खेद्यो भने चाणक्य पनि मगधलाई नन्द बँशबाट मुक्त गरे, पहिला बिचार आउँछ त्यसपछि बिनाश आउछ या निर्माण हुन्छ, सिके राउतको बिचार गलत छ, देशको लागि घातक छ, दिल्लीको जन्तरमन्तरमा गएर “हामी मधेशी, तिम्रा पढोँसी” भन्दै धर्ना दिनेको बिचार सहि होइन ।”

संघीय लोकतान्त्रिक नेपालमा शान्तिपूर्वक आफ्ना बिचार राख्न, सभा सम्मेलन र संगठन गर्न पाउने प्रत्येक नेपालीको संवैधानिक अधिकार हो । सिके राउतले सो अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण तवरले आफ्ना बिचार राखिरहेका थिए । संविधानप्रदत्त अधिकारको प्रयोग गर्दा प्रहरीले गैरन्यायिक तवरबाट गिरफ्तार गरेकोप्रति ध्यानाकर्षण भएको हो । नेपाल प्रहरीले उनलाई पक्राउ गर्ने अहिलेसम्म कुनै पर्याप्त कारण बताएको छैन । राउतको गिरफ्तारी नेपालको अन्तरिम संविधा (२०६३) को मर्म र भावना विपरीत रहेको छ ।

यस्ता दमनकारी प्रवृत्तिमा मित्र कृष्णहरी महर्जनले यसै थ्रेडमा “राष्ट्र टुक्र्याउने कुरा राम्रो होइन, तर किन यस्तो भन्ने स्थिति भएछ ठण्डा दिमागले सोची कारण पत्ता लगाई निदान गर्नुको साटो पंचायति शैलीमा स्वतन्त्र अभिव्यक्ति दिने गणतान्त्रिक मान्यतालाई कुण्ठित गर्ने कार्य गलत हो” भन्नुभएको छ । अर्थात् यस्ता उग्र प्रतिक्रियाहरूले त्यो स्वघोषित निर्विकल्प दमनकारी पंचायति र शाही शासनलाई अराष्ट्रिय तत्व मानिएको गणतान्त्रिक शक्तिले उखेलेर लोकतान्त्रिक मान्यतासाथ स्थापना गरिएको वाक स्वतन्त्रतालाई कुठाराघात गर्दै छ । कृष्णहरी महर्जन यो पनि भन्दै हुनुहुन्छ कि सिकेले यसरी उग्रता लिनमा के कारणले काम गरेको छ ठण्डा दिमागले बुझेर निदान गर्नुपर्छ ।

जुन सोचले दमनको भाषा बोल्छ त्यो कदाचित लोकतान्त्रिक होइन । मित्र टंक वानेम आफ्नो फेसबुके पाटीमा संयमित ढंगमा भन्नुहुन्छ- “डा. सिके राउत यतिवेला प्रहरीको पन्जामै होलान् । उहाँको आत्मकथा पढेर स्तब्ध भएको छु । हामी पहाडीहरूले मदिसे साथीहरूलाई कति साह्रै हेप्दा रहेछौं । उहाँको आत्मकथासंगै मेरो अतित पनि दोहोरियो । हाम्रो परिवारमा हामी लिम्बू भाषा मात्र बोल्ने गर्थ्यौ । पहिलोपल्ट म स्कुल जाँदा खस नेपाली भाषा प्रस्ट बोल्न नजानेर मेरा बाहुन साथीहरू खुव हाँसेका थिए । हामी बीचको हाम्रो बिचार आदान प्रदान गर्ने एउटा भाषा त हुनै पर्छ । तर त्यही भाषाको शक्त्तीले अरुलाई होच्याउदाको परिणाम भने कल्पनाभन्दा बाहिरको कुरो हुँदो रहेछ् । जो डा. सिके राउतले गरेका छन् । अरु कसैले त्यस्तै हेपाइ भोगे शायद उसले पनि त्यसै गर्नेछ ।” अन्त्यमा टंक वानेमले भन्नुभएको छ- “यही कुरालाई मध्य नजर गर्दै सबै नेपालीहरूलाई समान आँखाले हेर्ने दृष्टिकोण बनाउन ढिलो गर्नु हुँदैन । मधेश बिनाको पहाड र पहाड बिनाको मधेश भयो भने आँखा बिनाको मान्छे जस्तै हुनेछौं ।”

टोनी मगर सारुले पनि मेरो यसै थ्रेडमा संयमित ढंगमा लेख्नुभो: “हजुर ! हामी पनि बिभेदमा परेका छौं, दबिएका छौं तर हाम्रो लडाइ भनेको बिभेदको अन्त र समानताको स्थापना हुनुपर्छ, मुखमा आयो र अधिकार छ भन्दैमा प्याच्च बोल्नु डा. जस्तो मान्छेलाई सुहाउँदैन”

यता आफ्नो फेसबुके पाटीमा मित्र जेबी राइ कारक तत्व किटेर भन्नुहुन्छ- “अझै पनि तराइ (मधेश) वा कुनै पनि ऐतिहासिक भूगोललाई संघिय राज्यहरूमा परिणत गरिंदैन भने ती भूगोलहरू तिमीले भनेको जस्तो नेपालबाट छुट्टिन सक्छ । हामीले भनिरहेका थ्यौं र अझै भन्दैछौं, दोश्रो अतिबाद जन्मनुमा सधैं पहिलो अतिबाद अत्यन्त जिम्मेवार रहन्छ ।” अनि अलि खरोरूपमा एक वर्गलाई औंला ठड्याएर थप्नुहुन्छ- “नेपालको हकमा त्यो पहिलो अतिबाद भनेको बाहुनबादी अतिबाद नै हो । आज सिके राउतलाई देशद्रोही भनेर तिमी अन्तत्वगत्वा कहीं उम्कन सक्दैनौ । तिमीले भनेको जस्तो तिम्रो त्यो एकांकी राष्ट्रियता अब त्यहाँ जवरजस्त रहँन सक्दै सक्दैन ।”

स्पष्ट छ मैले त सिर्फ सिकेको वाक स्वतन्त्रतालाई हनन गर्नु लोकतान्त्रिक भएन भनेको मात्र हुँ । उनका देशलाई खण्डित गर्ने बिचारमा असहमत जनाएको छु । तथापि उनका उग्रताका कारक सत्तामा रहेका मूल्य र मान्यता हो भन्ने कुरामा मेरो बिमति छैन । जेबिजिले भन्नु भए झैं सत्ताको उग्रताले नै त्यही हदको प्रतिरोध जन्माउँछ । सिकेमा हुने उग्रताबारे टंक वानेमजिको सोच अति संवेदनयुक्त सान्दर्भिक लाग्यो ।

यसै थ्रेड्मा मित्र रमेश चक्रले ३५ लाख बिदेशीएको तन्नेरीहरूको व्यथा बताउंदै त्यसको कारक बारेमा नसोची नागरिकको वाक स्वतान्त्रताको खिलाफमा “बुढी राडी दुख पाएको चेलीहरूलाई अरबी जनवारहरूको घरको बन्द कोठ्ठा भित्र त्यो घरका महिलाहरूले नङमा लगाउने नेल पालीसको भन्दा कम पारिश्रमीकमा काम गरिरहेका दिदी बहिनीहरूको स्वतन्त्रता बलत्कार, हत्या, आत्महत्यामा सिके राउतको स्वतन्त्रता तपाइको तराजुमा जोखेर भन्नुहोस डा. साव, यो भन्दा दुख र पिडा र अपमान हामीले कहिले भोगेका थियैा र तपाइ फेरी अर्को प्रचण्डको स्वागत गरिरहनु भएकोछ, सिकेको सम्मान गरेर तावाको माछा भुङग्रोमा झै हामी गरिव दुखी जनताले के कसुर गरेकाछौं र अझै युद्ध र आतंकको त्रासलाई हामीले स्वीकार गरिदिनु पर्ने” भनेर मलाई प्रश्न राख्नु भाको छ ।

यो कस्तो प्रश्न हो मैले बुझिन । यी तमाम विसंगतिको दोषी के वाक स्वतन्त्रताको वकालत गर्ने मजस्ता व्यक्ति हुन् ? वा उत्पीडन विरुद्ध उग्ररूपमा जागेका सिके राउत ? उहाँको प्रश्न त शासनको बागडोर सम्हाल्ने कारक तत्वहरूतिर हुनु पर्ने हो । उल्टै शासनको मारबाट दमित भएका, आत्तिएका पिल्सिएर पागल हुन पुगेका सिकेतिर तेर्स्याउन पुग्नुभो । कत्तिसम्म भ्रम ?

सबै आफ्ना पूर्वाग्रहमै भ्रमित भएर सिकेलाई देशद्रोही करार गर्दै छन् । मित्र प्रकाश पन्त रोष प्रकट गर्नु हुन्छ –”गुहु र गोबर एउटै हो भने सबै बिचार हुन्न । होइन भने बिचार कुबिचार सदबिचार राष्ट्रप्रेम राष्ट्रियता देशद्रोह फरक कुरा हुन । जेसुकै र जस्तोसुकै बिचारलाई पनि आम जनमानसमा सम्प्रेषण गर्न कुनै किसिमका डा. लाई पनि कुनै पनि देशमा पूर्णत छुट हुदैन ।”

कानूनको दायराभित्र बसेर अभिव्यक्ति दिनेलाई दोशद्रोही भनिहाल्न मिल्ला र ? उल्टै कानूनभन्दा पर गएर देशभक्त बन्ने भ्रममा रोष प्रकट गर्दै हुनुहुन्छ मित्र प्रकाश पन्त । मिल्ने कुरो यो होइन । अनि उखान प्रयोग गर्नुहुन्छ “गुहु र गोबर फरक हुन्छ” भन्ने मान्यताका साथ । राम्रा नराम्रा कुराको फरक हुनु पर्छ भन्ने उहाँको भावमा मेरो बिमति भएन । तर उहाँमा यत्ति पनि संवेदनशीलता भएन कि “गोबर” पनि “गुहु” नै हो भन्ने मान्यता राख्ने समुदाय पनि नेपालमा छन् । आफ्नै मान्यता सर्वस्वीकार्य हुनुपर्छ भन्ने पूर्ववत दमनकारी सोचको यो एउटा द्योतक नमुना हो नै ।

देश वा देशको नीति पछाडी लर्कने वा फर्कने कुनै गुञ्जाइस छैन । रगतले सिंचेको यहाँसम्मको उपलव्धिलाई जनताले संस्थागत गर्ने नै छ ।

मेरा मित्रहरू सिकेप्रति आक्रोषित हुँदै मतिर पनि वाक स्वतन्त्रताको कुरा गरेकै आधारमा धेरथोर आक्रमक हुनुहुन्छ । यो एउटा ढिडपानाको संकेत हो । यस प्रकारको सोचले समाधानको प्रक्रियालाई अरू अप्ठेरो पार्ने मात्र हो किनभने यसले त्यही दमनकारी सत्तालाई नै अरू उग्र हुन मद्दत पुग्ने छ । माथि जेबिजीले भने झैं म पनि भन्छु उग्रताले उग्रतानै नै निम्त्याउँछ । जसले भौतिक टक्कर सिर्जना हुन्छ र अन्तत: एक पक्षको विनाश नै अवश्यम्भावी हुन्छ । हामीलाई अनुभव छ राजा त्यस्तै उग्रताले मासिए । हामीलाई अनुभव छ माओबादी र देशमा संघर्षरत अरू राजनीतिक दलहरूले एकार्कालाई हेर्ने दृष्टिकोणमा लचकता ल्याउनेबित्तिकै देशमा शान्ति आयो साथै देशले दमनकारी सेतो हातिबाट मुक्ति पनि पायो ।

साथीहरूले बुझ्नु पर्छ यतिखेर कांग्रेस एमालेइतरका शक्तिहरू र स्वायत्त मधेशको लागि संघर्षरत दल र संस्थाहरु पनि राउतको पक्षमा आवाज उठाइरहेका छन् । अझ कांग्रेस एमालेभित्रकै आदिवासी जनजाति र उत्पीडित वर्गसमेत वर्गीय मुक्तिको लागि अन्तत: यसै पक्षमा ध्रुविकृत हुँदै जानेछन् । मेरा मित्रहरू जुन हिसाबमा उत्तेजित र उग्र बन्दै हुनुहुन्छ त्यही हिसाबमा ती सिमान्तिकृत वर्ग ध्रुवीकृत हुँदै उग्र बन्दैछन् ।

सत्ता हातमा छ भनेर उग्रता देखाउनु लोकतान्तिकता होइन । जस्को हातमा केही छ दिने लचकता पनि उसैको हुनु पर्छ नत्र खोसेर लिन्छन भोकाहरूले । हामीले ७ सालमा त्यही देख्यौं, ४६ सालमा त्यही त्यही देख्यौं । ६३ सालमा त्यही देख्यौं र त्यसरी नै तालिमप्राप्त सिमान्तिकृत जनताले दमनलाई मिच्दै अघि बढ्ने अवश्यम्भाविता पनि आँक्न सक्छौं ।

जनता बुझ्दछन् राणा र राजाका पृष्ठपोषक मूल्य र मान्यताले आजपनि जनतालाई धर्म र परम्पराको नाममा नशा हाल्दै भ्रमित गर्दैछन् । त्यो विषालु बीज कहिले राणा नामको त कहिले राजा नामको एक पछि अर्को आवरणबाट छोडिएर नांगिएको स्थिति छ । त्यो मूल्य त्यो मान्यता पागल बनेर सत्ताको तुजुकसाथ दमनमा उत्रिएको छ । उत्पीडित जनता भिड्न मोर्चाबन्दी गर्दै छ ।

म सीर्फ यो भन्न चाहन्छु । मधेशको मुद्दा सिकेले मात्र बोकेको छैन । सम्पूर्ण मधेश र देशभरका सिमान्तिकृतहरू समेतले समभावी मुद्दा मान्दै साथ दिँदो छ । बुझिन्छ सत्ताको लचकहीनताले उनलाई उग्र बनाएकोछ । त्यो उग्रता दमनले साम्य हुनेवाला छैन । अरु भड्कने छ । सिके व्यक्ति होइन एक विद्रोहको संकेत हो । अहिले यो कानूनको दायराबाट अभिव्यक्त हुँदै छ । यस झिल्कालाई अवमुल्यन गर्न लागियो भने ढीला हुनेछ । कुनैपनि बेला त्यो घेरा तोडेर बाहिर सल्कन सक्छ ।

बुझ्नु छ- मधेशलाई मिचेर मिचिन्न । मधेशले आफ्नो सत्ता स्थापित गरिसकेको छ । अब टोकरी बोकेर गल्लि गल्लि आलु मात्र बेच्दै छैन राष्ट्रको गरिमामय सर्बोच्च पदमा असिन छ । बुझ्नु पर्यो, तराइको माटोले सम्पूर्ण देशको भोक मिटाउने सामर्थ्य राख्दछ । यहाँनिर मित्र टंक वानेमको उक्ति दोहोर्याउन मन लाग्यो- “सबै नेपालीहरूलाई समान आँखाले हेर्ने दृष्टिकोण बनाउन ढिलो गर्नु हुँदैन । मधेश बिनाको पहाड र पहाड बिनाको मधेश भयो भने आँखा बिनाको मान्छे जस्तै हुनेछौं ।”

अखण्ड नेपालको सोच राख्ने सबै देशभक्तहरूले चेत खुलाउन पर्यो । जबर्जस्तीले धागो चुडिन्छ । लचकताले मात्र डोरी बाटिन्छ ।