२९ आश्विन २०८३, बिहिबार

प्रचण्डको दाहिने हात गुम्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौं, ३० भदौ । एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधनले परिवारमा त बज्रपात परेको छ नै, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको त दाहिने हात नै गुमेको छ ।

पार्टी भित्रका अनेक उतारचढावमा बोगटी प्रचण्डका दाहिने हातझैं थिए । उनले सँधै प्रचण्डलाई निस्वार्थ सेवा मात्रै गरे । नरम र मध्यमार्गी स्वभावका बोगटी पार्टीभित्र विगतमा अन्तरसंघर्ष चर्काउने मोहन वैद्य समूह होस् या अहिलेका शीर्ष नेता बाबुराम भट्टराई । गुटउपगुटमा विभक्त एमाओवादी नेताहरुबीच छलफल चलाएर बोगटी समस्या समाधान गर्न तल्ली हुन्थे ।

प्रचण्ड पुत्र प्रकाश र आफ्नी छोरी प्रभाको वैवाहिक जीवन सफल हुन नसकी डिभोर्स हुँदा समेत बोगटीले कहिल्यै पनि प्रचण्डसँगको सम्बन्ध बिगारेनन् । युद्धकालमा होस् या त्यसपछि पनि उनीहरुको सम्बन्धसँगै एकनाशको हुन्थ्यो ।

नयाँ शक्तिको नारा लिएर शीर्ष नेता बाबुराम भट्टराईले पार्टी भित्र अन्तरसंघर्ष चलाइरहँदा बोगटीको निधनले प्रचण्डलाई राजनीतिक रुपमा झनै ठूलो क्षति पुराएको छ । बोगटी बिनाको प्रचण्डको राजनीति कसरी अगाडि बढ्ला त्यो त समयले नै भन्छ, तर प्रचण्डले सोमबार भने आफ्नो अभिभावकीय दायित्व निर्वाह गरे । र त बोगटीका दुई छोरीसँगै उनले पनि एकसाथ दागबत्ती दिए ।

प्रचण्डलाई हरेक सङ्कटको घडीमा सहयोग गर्ने र सही निर्णय गर्न प्रेरित गर्ने महत्वपूर्ण नेतामध्ये उनी एक थिए । एमाओवादी नेता हितबहादुर तामाङका अनुसार उनले कहिल्यै गलत प्रवृत्तिलाई प्रश्रय दिएनन् ।

असल र त्यागी नेता

भौतिकवादी दुनियाँमा बोगटी यस्ता नेता थिए जसले लिनमात्र होइन्, दिन पनि जान्दथे । नुवाकोट तुप्चे गाउँमै माध्यमिक विद्यालय चलाएर स्थानीय विद्यार्थीलाई शिक्षा प्रदान गर्ने उद्देश्यलाई अगाडि बढाउन बोगटीले छ रोपनी जग्गादान गरेका थिए । राजनीतिसँगै सामाजिक परिवर्तनको अभियान सुरु गर्नपर्छ भन्ने मान्यता राख्ने बोगटीले आफ्नो जीवनकालमा कोही कसैको चित्त दुखाएनन् ।

न त जनयुद्धमा आफ्ना एक मात्र छोरा रवि गुमाउँदासमेत उनमा विचलन देखियो । माओवादीकै अरु नेताका छोराछोरी युद्धमा प्रत्यक्ष सहभागी नभएको बेलासमेत उनले परिवारलाई नै प्रत्यक्षरुपमा सहभागी गराएका थिए । धादिङको खनियाबासमा २०५८ सालमा रविको हत्या भएको थियो ।

जनयुद्धकालमा उनले लामो समय रोल्पा, रुकुम, सल्यानलगायतका जिल्लामा बिताएका थिए । नेता तथा कार्यकर्ताको मनोभावना बुझेर काम गर्न प्रेरित गर्ने बोगटीको अद्भूत क्षमता थियो । मध्यपश्चिममा माओवादीको सङ्गठन विस्तार गर्न र जनतालाई सङ्गठित गर्नका लागि उनको विशेष योगदान थियो । एमाओवादीले सञ्चालन गरेको गण्डक अभियान होस् वा खाराको लडाइँमा उनले प्रत्यक्षरुपमा राजनीतिक नेतृत्व गरेका थिए ।

posta-bahadur-bogati-Prachanda-Baburam-Janardan5

सामाजिक कार्यकर्ता भई किसानको परिवारबाट राजनीतिमा उठेर शीर्ष नेतृत्वमा पुग्ने थोरै नेतामध्ये बोगटी एक थिए । नुवाकोट जिल्लाबाट राष्ट्रियस्तरको दलका उपाध्यक्ष तहसम्म पुग्नेमा उनी मात्र एक हुन् । किसान र मजदुर सङ्गठनको शीर्ष भूमिकामा रहेर सधँै त्यही वर्गको सेवामा लागेका बोगटीले वर्गीय राजनीतिलाई नै अगाडि बढाउनुपर्छ भन्ने धारणा राख्थे ।

बोगटी आफूले अध्ययन गरेको त्रिभुवन त्रिशूली हाइस्कुल, त्रिशूली बजारका गुरुहरूप्रति असाध्यै आदरभाव राख्ने, मन्त्री र सांसद हुँदासमेत आफूहरूलाई खोज्दै, सोध्दै आउने सरल हृदयका थिए । नुवाकोटे जनताको आँखाको नानीस्वरुप रहेको उनका नेपाली भाषाका गुरु शिवप्रसाद रिमालको स्मरणमा ताजा छ । “नाङ्गो खुट्टाले हिँडेरै, रातको समयमा छामछामछुम गर्दै त्रिशूलीसम्म पढ्न आउने उनको भित्री चाहना अचम्मको थियो” उहाँका गुरु रिमालको स्मरण छ ।

सँधै समन्वयकारी भूमिका

शान्ति प्रक्रियामा आएपछि सूचना तथा सञ्चार, ऊर्जा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए बोगटीले ।

शान्ति प्रक्रिया र संविधान निर्माणमा उनको समन्वयकारी भूमिकाले महत्वपूर्ण काम गरेको थियो । नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका शब्दमा नेता बोगटी वास्तवमा कम्युनिस्ट नेता नै थिए ।

उनलाई हृदयाघात हुनुभन्दा अघिल्लो दिन पनि प्रधानमन्त्री निवास बालुवाटारमा संविधान निर्माणको प्रक्रियालाई कसरी टुङ्गोमा पु¥याउने र शान्ति प्रक्रियामा बाँकी रहेका कामलाई पूर्णता दिने भन्नेबारेमा बोगटीले विचार राखेको नेता नेपाल स्मरण गर्छन् । शीर्ष नेताबीच विवाद हुँदा र समस्या पैदा हुँदासमेत कत्ति पनि विचलित नभई निष्कर्ष निकाल्नका लागि सधँै अग्रसर हुने उनको स्वभाव साँच्चै अनुकरणीय रहेको नेता नेपालको भनाइ छ ।

नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले उनको भद्रता र संयमता नै उत्कृष्ट गुण रहेको बताए ।

गत बिहीबार आफ्नै निवासमा हृदयाघात भएपछि उपचारका लागि बाँसबारीस्थित सहिद गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरिनुभएका बोगटीलाई शुक्रबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकले अथक मेहनत गरे पनि उहाँलाई बचाउन सकेनन् । हृदयाघात र मस्तिकाघातका कारण उनको अल्पायुमा सोमबार बिहान ७.२५ मा निधन भयो ।