२९ आश्विन २०८३, बिहिबार

बाबुको बिढोँ थाम्दै एमाले शीर्ष नेताका छोरा, झलनाथका छोरा अमेरिका छाडेर राजनीतिमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nirvik-khanal-jhalnath

काठमाडौँ, ३० भदौ । नेकपा एमालेका शीर्ष नेताका छोराहरुलाई युवा संघको राजनीतिमा तान्न थालिएको छ ।

युवा संघको सोमबार बसेको केन्द्रीय कमिटी बैठकले एमाले वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भिक खनालसहित सात जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । निर्भिक अमेरिकामा इन्जिनियर पढेर स्वदेश फर्केका हुन् । युवा संघले यसअघि नै उपाध्यक्ष बामदेव गौतमका छोरा हरिशलाई केन्द्रीय सदस्य मनोनित गरिसकेको छ ।

जननेता मदन भण्डारी एवं एमाले उपाध्यक्ष विद्या भण्डारीकी छोरी उषाकिरण भण्डारीलाई पनि केन्द्रीय सदस्य बनाउने युवासंघको तयारी छ ।

बाबु राजनीतिमा सक्रिय हुने तर छोरा निस्क्रिय हुने परम्परा अन्त्य हुन निर्भिकलाई केन्द्रीय सदस्य बनाइएको युवासंघका प्रवक्ता प्रभातबिक्रम कटुवालले जानकारी दिए ।

निर्भिकका साथै सञ्जीव झा, वासु नेपाल, विप्लव राई, नेत्र भण्डारी, हर्क राई, खड्ग शाहीलाई पनि केन्द्रीय सदस्यमा मनोनितको निर्णय गरेको प्रवक्ता कटुवालले जानकारी दिए ।

बैठकमा यही भदौ २८ र २९ गते बसेको विस्तारित बैठकमा विभिन्न १७ अञ्चल, जिल्ला र क्षेत्रीय अध्यक्षका गतिविधि, सुझाव, कार्यक्रम तथा योजनासहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

संघले सङ्गठन निर्माण तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानअन्तर्गत सङ्गठनमा थप युवाहरूलाई आकर्षित गराउने, सङ्गठनभित्र हुर्र्किएको विकृति÷विसङ्गति तथा अराजकता अन्त्यका लागि शुद्धीकरण कार्यक्रम सञ्चालन गर्ने, मातहतका समिति र वडास्तरसम्म रहेका समितिलाई सक्रिय बनाइने कटुवालले बताए ।

बैठकले महिला हिंसा तथा महिलामाथि हुने विभेदविरूद्ध देशव्यापी अभियान सञ्चालन गर्ने, युवालाई उत्पादन र रोजगारसँग जोडेर रचनात्मक तथा व्यावसायिक अभियान सञ्चालन गर्ने पनि निर्णय गरेको छ । सङ्घले संविधान निर्माणमा युवा दबाब सिर्जना गर्ने निर्णय पनि गरेको छ ।

बैठकले अध्यक्ष महेश बस्नेत उद्योग मन्त्रीमा नियुक्त हुनुभएकामा बधाइ दिँदै उनको कार्यकाल सफल बनाउन युवा उद्यमी भेला, नयाँ उद्योग खोल्न युवाहरूलाई प्रोत्साहनलगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

सङ्घको कार्यबाहक अध्यक्षको जिम्मेवारी सोमबारदेखि उपाध्यक्ष निरू पालले सम्हालेकी छिन् ।