काठमाडौँ, ३० भदौ । एमाले पदाधिकारी बैठकमा चर्काचर्की भएको छ ।
संबैधानिक नियुक्तिका लागि पार्टीले सिफारिस गर्ने व्यक्ति र पार्टीको नीतिका बारेमा छललफ गर्न सोमबार बसेको उक्त बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली समूहबीच चर्काचर्की परेको हो ।
पछिल्लो समय अध्यक्ष ओलीको कार्यशैलीप्रति रुष्ट बन्दै आएको नेपाल समूह बैठकमा आक्रामक रुपमा प्रस्तुत भएपछि बैठक बिनानिष्कर्ष टुङ्गिएको उपाध्यक्ष भीम रावलले दैनिक नेपाललाई जानकारी दिनुभयो ।
ओली समूहले भने बैठक अपरान्ह पुनः बस्ने गरी स्थगन भएको बताएको छ ।
व्यक्तिको मनपरीमा पार्टी चल्ने प्रक्रिया नरोकिएकाले बैठकमा अध्यक्षको विरोध गरेको रावलले स्वीकार गर्नुभयो ।
बैठकमा माधव नेपाल, भीम रावल र योगेश भट्टराई आक्रामक रुपमा प्रस्तुत भएपछि दिउँसो २ बजे बस्ने भन्दै पदाधिकारी बैठक स्थगित भएको हो ।
बैठकको शुरुमै नेपाल अध्यक्ष ओलीप्रति आक्रमक रुपमा प्रस्तुत हुनुभएको थियो । उहाँले ओलीलाई पार्टीलाई प्राइभेट लिमिटेडका रुपमा चलाउन खोजेको आरोप लगाउनु भएको थियो ।
उहाँले पार्टीलाई कसैको पेवाका रुपमा नचलाउन पनि ओलीलाई चेतावनी दिनुभएको थियो ।
नेपाल समूह सुकुुम्बासी आयोग गठन, ८ जना सभासदको सिफारिश, समितिका सभापतिको चयन र मन्त्रीहरु फिर्ता बोलाएलगाएतका विषयलाई लिएर ओलीसँग रुष्ट भन्दै आएको छ ।
ओली समुहले भने बैठकमा केही पदाधिकारीले असन्तुष्टि जनाएको भन्दै बैठकनै अवरुद्ध नभएको दावी गरेको छ ।
















प्रतिक्रिया