२९ आश्विन २०८३, बिहिबार

बजार अनुगमनलाई प्रभावकारी बनाउन वाणिज्यमन्त्रीको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunil-thapa

काठमाडौं, २६ भदौ । सरकारले वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागलाई उपभोक्तासँग सहकार्य गरेर ऐन र नियम एवं जनचेतनाका कार्यक्रमलाई परिमार्जन गरेर प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

विभागद्वारा शुक्रबार राजधानीमा आयोजित आव ०७०/७१ को प्रगति समीक्षा वैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री सुनीलबहादुर थापाले विभागका कार्यालयलाई भौतिक तथा आर्थिक रूपमा सबल बनाएर बजार अनुगमनलाई एक साताभित्र प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

‘विभागले आफ्ना कार्यक्रमलाई परिमार्जन गर्नुपर्छ, नियम कानुन फितलो हुन भएन, एउटा निकायले अवलोकन गर्छ, अर्कोलाई प्रतिवेदन बुझाउँछ, त्यसले के गर्छ पहिलोलाई पत्तो हुन्न, यस्तो अवस्था हुनु भएन, उपभोक्ताको हितमा काम गर्नुप¥यो,’ थापाले भन्नुभयो ।

सबै निकाय समन्वय गरेर उपभोक्ताको पक्षमा काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री थापाले विभागका कार्यक्रमलाई तुरुन्त पुनरवलोकन गर्न र विभागका महानिर्देशन नै जिल्ला एवं अञ्चलनमा गएर बजार अनुगमन गर्न निर्देशन दिनु्भयो ।
वाणिज्य राज्यमन्त्री गिरिबहादुर केसीले अधिकारकर्मीसँग सहकार्य गरेर उपभोक्ता अदालत र उपभोक्ता आयोग गठन गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

विभागका महानिर्देशक नारायणप्रसाद बिडारीले मन्त्रालयको निर्देशनअनुसार विभागका कार्यक्रमलाई परिवर्तन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विभागले समीक्षा वर्षमा अघिल्लो वर्षको तुलनामा ९७ प्रतिशतले प्रगति गरेर करिब १३ करोड ३० लाख राजस्व संकलन गरेको, गत वर्ष एक हजार ८५० बजार अनुगमन गरेकामा समीक्षा वर्षमा तीन हजार ३५२ अनुगमन गरिएको जनाएको छ ।

त्यसैगरी उपभोक्तावादी संस्थाको व्यवस्थापन, उपभोक्ता सचेतना, भौतिक पूर्वाधार, संकलित नमुनाको प्राविधिक परीक्षण, मापदण्ड र प्रतिवेदन, ऐन संशोधन र जिल्ला तथा क्षेत्रगत संगठन विस्तार गर्नुपर्ने चुनौती रहेको बताइएको थियो । रासस