रौतहट, २६ भदौ । जिल्ला प्रहरी कार्यालय गौरले संगठनको नीतिविपरीत काम गरेको भन्दै ४६ प्रहरीलाई कारबाही गरेको छ ।
उनीहरूलाई नसियत तथा निलम्बनसमेत गरेको सो कार्यालयले जनाएको छ । कारबाही पर्नेमा सईदेखि मुनिका सुरक्षाकर्मी छन् ।
रौतहट जिल्लाको विभिन्न चौकी, इलाका तथा सदरमुकाम बसेर काम गर्दै आएका सुरक्षाकर्मीले संगठनको नीतिविपरीत काम गरेकाले कारबाही गरिएको प्रहरी नायब उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
ड्युटीको समयमा मादक पदार्थ सेवन गर्ने, बिदाको बहानामा घरमा बस्ने, जथाभावी रकम असुल्ने तथा संगठनको नीति बाहिर गएर काम गर्ने गरेकाले उनीहरू कारबाहीमा परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयले वर्षभरि गरेको प्रगति विवरण सार्वजनिक गर्ने क्रममा कारबाहीमा परेका सुरक्षाकर्मीबारे जानकारी दिएको हो । संगठनको नीतिविपरीत काम गरेको आरोपमा इलाका प्रहरी कार्यालय कटहरियाका सई प्रह्लाद केशरीलाई कारबाही गरिएको हो ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाका प्रमुख सई ओमप्रकाश दुलाल र कोपवा पिपरिया इलाकाका प्रमुख सई सोफिसाह बैठालाई कारबाही गरेको गौर प्रहरीले जनाएको छ । त्यसैगरी, चौकीका पाँचजना असईलाई समेत कारबाही गरिएको छ । हवल्दार सिपाहीसमेत गरी ४६ जनालाई कारबाही गरिएको सो कार्यालयले जनाएको छ । रासस
















प्रतिक्रिया